वीरगन्ज । बारामा नेपाल प्रहरीका अधिकृतको साथबाट सरकारी पेस्तोल रहस्यमय ढंगले हराएको घटनाले मधेस प्रदेश प्रहरीमा तरङ्ग पैदा गरेको छ ।
इलाका प्रहरी कार्यालय कबहीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले बोकेको ९ एमएमको सरकारी पेस्तोल हराएपछि घटनाको छानबिनका लागि सो कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको हो ।
घटना बाहिरिएलगत्तै मधेस प्रदेश प्रहरी कार्यालयले इप्रका कबहीमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका १२ जना प्रहरीलाई प्रदेश कार्यालयमा झिकाएर अलग–अलग राखी सोधपुछ सुरु गरेको छ । कबहीमा भने सुरक्षाको जिम्मेवारी सम्हाल्न प्रहरीको अर्को टोली खटाइएको छ।
प्रहरीका अनुसार पेस्तोल हराएको घटना गत पुस ११ गते भएको हो । जानकारी प्राप्त भएपछि एसपी भेष रिजालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
पुस १५ गते गठन भएको समितिले घटनास्थलको प्रारम्भिक अध्ययन सकेर फर्किएलगत्तै थप अनुसन्धानका लागि त्यहाँ कार्यरत सबै प्रहरीलाई शुक्रबार जनकपुर झिकाएको हो ।
प्रारम्भिक बयानका क्रममा सई मिश्रले राति गस्ती गर्ने क्रममा पेस्तोल हराएको बताएका छन्। तर, उनले अर्को बयानमा ब्यारेकबाटै हतियार हराएको उल्लेख गरेको छानबिन समितिले जनाएको छ ।
एउटै घटनाबारे फरक–फरक विवरण आउनुले घटनालाई थप शंकास्पद बनाएको समितिको निष्कर्ष छ। घटनासँग सम्बन्धित सबै प्रहरी कर्मचारीलाई छुट्टाछुट्टै राखेर बयान लिने र अनुसन्धान प्रक्रिया अघि बढाइएको मधेस प्रहरीले जनाएको छ ।