नेपालगन्ज । बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१, कुसुमस्थित सौरीमा शनिबार एक जनाको मृत्यु भएको छ ।
आक्रमणबाट स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक पातलीले जानकारी दिए ।
बाघको आक्रमणबाट केही महिनाअघि कुसुममा एकजनाको ज्यान गएको थियो ।
प्रहरीका अनुसार, गाई चराउन गएका बेला शनिबार दिउँसो २ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जंगलमा भण्डारीमाथि बाघले आक्रमण गरेको थियो ।
उनीसँगै गाई चराउन गएका स्थानीय पिमलाल डाँगीले बाघले एक्कासि आक्रमण गरेर लगेको जानकारी गराएको प्रहरीको भनाइ छ ।
भण्डारीसँगै रहेका अरूलाई पनि बाघले आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।