धनगढी । कैलालीको धनगढीमा पुस २२ गतेदेखि ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२’ आयोजना हुन लागेको छ । चैतन्य पाठशालाले आइतबार महोत्सवको जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पाठशालाका सिइओ गणेशप्रसाद जोशीका अनुसार, महोत्सवको उद्देश्य विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै सिर्जनशीलता, नेतृत्व क्षमता, सामाजिक चेतना, अन्वेषणशील सोच र आत्मविश्वासको विकास गर्नु हो ।
उनले महोत्सवले शैक्षिक, सांस्कृतिक, साहित्यिक तथा रचनात्मक गतिविधिहरू मार्फत विद्यार्थीहरूलाई व्यावहारिक, जीवनोपयोगी र मूल्यपरक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।
महोत्सवमा विद्यार्थीहरूले बनाएको प्लेन उडान परीक्षण, ड्रोन उडान, विज्ञान, अन्वेषण र प्रविधि प्रस्तुति समेत समावेश हुने जानकारी दिइएको छ।
पुस २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न गतिविधिहरू हुनेछन्, जसमा अन्तर–विद्यालय प्रतियोगिता, योग तथा ध्यान कार्यक्रम, रमाइला खेल, सामुदायिक सेवा र रक्तदान, स्थानीय परिकार प्रदर्शनी, स्टिम प्रदर्शनी, नाटक मञ्चन, प्राज्ञिक बहस, मौलिक तथा सांस्कृतिक प्रस्तुति, कला, साहित्य, कविता र कथा वाचन, चित्रकला तथा हस्तकला प्रतियोगिता र माघी मिलन विशेष कार्यक्रम रहेका छन्।
पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले महोत्सवको माध्यमबाट विद्यार्थीहरूमा आत्मविश्वास, आत्मअनुशासन, नेतृत्व क्षमता, सिर्जनशील सोच, अनुसन्धान प्रवृत्ति, नवप्रवर्तनशील क्षमता, सामाजिक उत्तरदायित्व र सहकार्यको विकास हुने अपेक्षा गरिएको बताए। साथै, सांस्कृतिक पहिचानप्रति गर्व र संरक्षणको चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
महोत्सवले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने अवसर दिने, जीवनोपयोगी शिक्षा प्रवद्र्धन गर्ने र उनीहरूको बौद्धिक, सृजनात्मक, सांस्कृतिक तथा व्यावहारिक क्षमतामा वृद्धि गर्ने लक्ष्य राखेको छ।