Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिभावान विद्यार्थी खोज्दै चैतन्य पाठशाला, पूर्ण छात्रवृत्ति घोषणा

प्रतिभावान विद्यार्थी खोज्दै चैतन्य पाठशाला, पूर्ण छात्रवृत्ति घोषणा

मंगलवार , बैशाख २९, २०८३

धनगढी । धनगढीस्थित चैतन्य पाठशालाले एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि कक्षा ११ अध्ययनमा विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ ।

विद्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएका तथा विभिन्न क्षेत्रमा क्षमता प्रदर्शन गरेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति उपलब्ध गराइने जनाएको हो । विद्यालयका प्रवन्ध निर्देशक गणेश प्रसाद जोशीले संस्था स्थापना कालदेखि नै प्रतिभावान तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए ।

विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रवेश परीक्षाको आधारमा २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । साथै सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट दुई–दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको उनले जानकारी दिए ।

त्यसैगरी “अपि प्रोजेक्ट” अन्तर्गत एक जना छात्र र एक जना छात्रालाई व्यवस्थापन संकायमा आवासीय सुविधा सहित पूर्ण छात्रवृत्ति उपलब्ध गराइने विद्यालयले जनाएको छ । विद्यालयमा कक्षा ११ अन्तर्गत विज्ञान, व्यवस्थापन, कम्प्युटर तथा होटल म्यानेजमेन्ट संकाय सञ्चालनमा रहेका छन् ।

विद्यालयका अनुसार छात्रवृत्ति छनोटका लागि एसईई नतिजा, प्रवेश परीक्षा तथा अन्तर्वार्तालाई मुख्य आधार बनाइनेछ । साथै खेलकुद, विज्ञान प्रतियोगिता, कला, संगीत, नृत्य, नेतृत्व विकास, वक्तृत्वकला तथा उद्यमशीलताजस्ता क्षेत्रमा विशेष उपलब्धि हासिल गरेका विद्यार्थीलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ ।

आधुनिक कम्प्युटर प्रयोगशाला, व्यवस्थित पुस्तकालय, प्रविधिमैत्री कक्षा, स्मार्ट बोर्ड, दक्ष शिक्षकद्वारा अध्यापन, जीवनोपयोगी शिक्षामा जोड, स्केटिङ पार्क, स्विमिङ पुल तथा फुटसललगायत पूर्वाधारलाई विद्यालयले आफ्नो विशेषताका रूपमा प्रस्तुत गरेको छ ।

विद्यालयले छात्रवृत्ति फारम वितरणको अन्तिम मिति २०८३ जेठ २१ गतेसम्म तोकेको छ भने आवेदन दिने अन्तिम मिति जेठ ५ गते रहने जनाएको छ । छात्रवृत्ति परीक्षा जेठ ७ गते बिहान ११ बजे सञ्चालन हुनेछ ।

आवेदन दिन इच्छुक विद्यार्थीले निवेदन पत्र, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, एसईई नतिजा वा मार्कसिट, सम्बन्धित उपलब्धिको प्रमाणपत्र तथा दुई प्रति पासपोर्ट साइज फोटो पेश गर्नुपर्ने विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका अनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि लिखित परीक्षा र अन्तर्वार्तामार्फत छात्रवृत्ति छनोट प्रक्रिया अगाडि बढाइनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077