काठमाडौं । भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनस्थलमा जान नेपाली कांग्रेसका नेता गगन थापा घरबाट निस्किएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू घरबाट निस्केको जानकारी गराएका हुन् ।
फेसबुकमा उनले लेखेका छन्–‘यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदैछु ।’
विशेष महाधिवेशनका कारण कांग्रेस दुई धारमा बाँडिएको छ । सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन बहिस्कार गरेका छन् भने महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनको आयोजना गरेका छन् ।
चोक चोकबाट निस्केको र्यालीमा नारा लागिरहेको छ–‘‘नेपाली कांग्रेस के भन्छ ? ‘गगन–विश्व’ ले भन्छ ।’ झाँक्री बाजागाजासहितको र्याली भृकुटीमण्डपमा आएर मिसिएको छ । तामझामका साथ उद्घाटन सत्र चलिरहेको छ । प्रतिनिधिहरूले रजिस्ट्रेसन गरिरहेका छन् । प्रतिनिधि कति हुन्छन् त्यसको आधारमा कांग्रेसको नेतृत्व परिवर्तन हुने नहुने निर्धारण हुने छ ।
विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । उद्घाटन समारोहपछि आजै बन्द सत्र पनि सुरु गरिनेछ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार कुपण्डोलसँगै काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट पनि जुलुस भृकुटीमण्डपतर्फ जानेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।