काठमाडौं । नेपाली कांग्रेस दुई टुक्रामा विभाजन भएसँदै दुबै पक्षले आफूहरु नै आधिकारीक भएको दावी गरिरहेका छन् । तर, त्यसको निर्णय गर्ने अधिकार भने निर्वाचन आयोगलाई मात्रै छ । शेरबहादुर देउवा पक्ष र गगन थापा पक्ष दुबैले आफूहरु नै आधिकारीक भएको दावी पेश गरेपछि दुबैको दाबीउपर निर्वाचन आयोग अध्ययनमा जुटेको छ ।
१४ औं महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षको दाबीउपर आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले अध्ययन थालेको हो ।
शाखाले अध्ययन गरेर आयोगको रेगुलर बैठकमै पेस हुने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जनाएका छन् । पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
निवेदनमा विशेष महाधिवेशनले गरेको निर्णय अनुसार कार्यसमिति अद्यावधिक गर्न भनिएको छ । साथै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको हस्ताक्षर रहने भनिएको छ ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मनोनयन दर्ता यही माघ ६ गते तय भएको छ । यसअघि कांग्रेसबाट मनोनयनपत्रमा हस्ताक्षर शेरबहादुर देउवाको रहने गरी निर्वाचन आयोगमा अभिलेखित छ । त्यसलाई बदलेर गगन थापाको हस्ताक्षर मनोनयनपत्रमा हुने भनेर विशेष महाधिवेशनबाट निर्वाचित समूहले निवेदन दिएको हो ।
तर, शेरबहादुर देउवा पक्षले भने आज कार्यालय खुल्ने वित्तिकै आयोग पुगेर विशेष महाधिवेशन नै आयोजना नभएको भनेर निवेदन दिएको छ । ‘जानकारी सम्बन्धमा’ भनेर दिइएको देउवा पक्षको निवेदनमा लेखिएको छ–‘नेपाली कांग्रेसको नाममा काठमाडौमा विशेष महाधिवेशन भएको भनी विभिन्न संचार माध्यममा आएकोले त्यस्तो कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको नगरेको व्यहोरा समेत अवगत गराइन्छ ।’
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुस २६ गतेदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन चलेको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति नै चयन गरेर अगाडि बढेको छ । तर, देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक भनेर आयोगमा पत्र बुझाएको छ ।
आधिकारिकता विवाद अध्ययन भइरहेका बेला आज देउवा पक्षका नेता–कार्यकर्ताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, रमेश लेखकलगायतका शिर्ष नेताहरु र सयौंको संख्यामा कार्यकर्ताहरु आयोग पुगेका छन् ।
यता, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार विशेष महाधिवेशन अयोजना भएको र उक्त महाधिवेशनमा ६० प्रतिशत भन्दा बढि महाधिवेशन प्रतिनिधिको उपस्थिती रहेको गगन पक्षको दावी छ ।
कांग्रेसको विधान अनुसार ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन डाक्न सक्ने व्यवस्था गरेको छ । यसैलाई आधार मानेर गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको अयोजना गरेको बताइरहेका छन् । अब आयोगले कसलाई आधिकारिकता दिने हो ? त्यो भने पर्खाइको विषय बनेको छ ।