काठमाडौं । नेपाली कांग्रेस यतिबेला फुटको संघारमा छ । सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षको असहमतिका बाबजुद ६० प्रतिशत भन्दा बढि प्रतिनिधि भेला गराएर महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशन गरेपछि संस्थापन पक्ष रुष्ट बनेको छ ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि मतदान नै सुरु गर्ने तयारी गरेपछि संस्थापन पक्षले बुधबार बिहान ८ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । तर, अहिलेसम्म उक्त बैठक सुरु हुन भने सकेको छैन ।
बिहान ८ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो बस्न लागेको हो । पार्टी फुट्ने नै भएपछि यो बैठकले दोस्रो विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितलाई कारबाहीको तयारी गरेको छ ।
महामन्त्रीद्वयले सभापति देउवा नेतृत्व छोड्नुपर्ने र आगामी फागुन २१ गतेको चुनाव पनि नलडी आराम गर्नुपर्ने भनेर राखेको शर्तमा कुरा नमिलेपछि कांग्रेस इतिहासमै तेस्रो पटक फुटतर्फ अग्रसर भएको हो ।
बुधबार बिहान महाराजगञ्जमा सभापति देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्तामा सहमति नजुटेसँगै कांग्रेस फुटतर्फ अग्रसर भएको छ।
अरू सबै विषयमा सहमति जुट्ने अवस्था देखिए पनि देउवाले नेतृत्व नछाड्ने अड्डी कसेका छन् । उनले तीन महिनापछि हुने नियमित अधिवेशनपछि भने आफू नेतृत्व छाड्न तयार भएको बताएका छन् । तर, विशेष महाधिवेशन पक्ष भने त्यो मान्न तयार छैन ।
देउवाले कांग्रेस नेतृत्व छाडे पनि आगामी संसदीय चुनाव लड्न दिनुपर्ने बताएका थिए । तर, महामन्त्रीद्वयले चुनाव पनि लड्न नपाउने अडान राखेपछि कुरा मिल्न नसकेको स्रोतको दावी छ ।
मंगलबार पनि दिउँसो हिजो १ बजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो।
यता भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा मनोनयन दर्ता सकिएको छ। सभापतिदेखि केन्द्रीय कार्यसमिति सदस्यका उम्मेदवारसम्मले मनोनयन दिइसकेका छन् । अब त्यहाँ निर्वाचन प्रक्रिया अघि बढिसकेको छ।
विशेष महाधिवेशनमा मनोनयन दर्ता भइसकेको छ । जसअनुसार सभापतिका लागि गगनकुमार थापाको मात्र उम्मेदवारी परेको छ भने उपसभापतिमा फर्मुला मन्सुर, गुरुराज घिमिरे र देवराज चालिसेको उम्मेदवारी परेको छ ।
त्यस्तै महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र जगदिश्वर नरसिंह केसीको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा भने गोपाल दहित, भरतबहादुर खड्का, शम्भु बहादुर बुढाथोकी, दिलकुमारी राई, जनकराज गिरी, ओमबहादुर घर्ती, राम पल्टन साह, नारायण भट्टराई मुक्ताकुमारी चौधरी, सुरेन्द्रप्रसाद चौधरी, कर्णबहादुर बुढा, अब्दुल सतार र बहादुर सिंह लामाको उम्मेदवारी परेको जनाइएको छ ।
सहमहामन्त्रीका लागि खुल्ला, महिला, आदिवासी जनजाती, मधेसी, दलित, मुस्लिम, पिछडिएको क्षेत्रका लागि ७ जना चयन हुने व्यवस्था रहेको छ ।