Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता केन्द्रित सहकार्य गरेकोमा क्षमायाचना माग्दै गगनले भने-विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भन्न सक्दैन

सत्ता केन्द्रित सहकार्य गरेकोमा क्षमायाचना माग्दै गगनले भने-विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भन्न सक्दैन

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने दाबी गरेका छन्। विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरुले विधान अनुसार आह्वान गरेको भन्दै वैधानिक नै रहेको बताए।

उनले भने–‘नेपालको संविधान छ, जुन संविधानमा राजनीतिक दल सम्बन्धी व्यवस्था गरिएको छ। त्यो मध्येको एउटा संविधान भनेको हाम्रो संविधान पनि हो। त्यसैले संविधान भन्दा माथि केही पनि छैन। त्यो संविधानको व्यवस्थामा राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था छ। त्यसको आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो।’

विशेष महाधिवेशनबारे कसैले कानूनी प्रश्न उठाउन नसक्ने बताउँदै उनले भने–‘आज यो विषयको बारेमा कसैले कानुनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा नेपालको निर्वाचन आयोगले हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न सक्दै सक्दैन। ढुक्क भएर बस्नुस्, सक्दैन। त्यसको आधार के छ भनेर मैले खुलाएको छु।’

जेनजी आन्दोलनलाई लिएर गगनका ४ संकल्प
महामन्त्री गगनकुमार थापाले पार्टीको जारी विशेष महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई लिएर पार्टीको संकल्प केके हुने भन्ने उल्लेख छ ।

उनले ४ बुँदामा संकल्प पेस गरेका छन् । ‘भदौ २३ र २४ गते नवयुवा पुस्ता (जेन- जी) को आह्वानमा भएको आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापित गरेको छ । भाद्र २३ र २४ गते घटेका अकल्पनीय र दुःखद घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै दमन र हिंसात्मक घटनाबाट सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ,’ उनले भनेका छन्-‘उनले भनेका छन्, ‘उक्त आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवर्द्धन, सेवा प्रवाह र युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वको सवाललगायतलाई नेपाली कांग्रेस दृढताका साथ आत्मसात गरी संकल्प गर्दछ ।’

यस्ता छन् उनले पेस गरेका संकल्प

क. भाद्र २३ को दमन र २४ को विध्वंशका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्दछ, घटनामा संलग्न दोषीमाथि कानूनी कारवाही गर्नु पर्दछ भन्ने बारेमा नेपाली कांग्रेस प्रष्ट र कटिबद्ध रहनेछ ।

ख. युवा पुस्तामा देखिएको अभूतपूर्व जागरण हाम्रो समाजको जीवन्त राजनीतिक पुँजी र युगीन चेतनापुञ्ज हो । युवा पुस्ताले आन्दोलनमार्फत व्यक्त गरेको आमूल परिवर्तनको चाहनालाई उच्च सम्मान गर्दै युवा पुस्तालाई पार्टीको हरेक तहमा आन्तरिक साङ्गठनिक संरचनादेखि राज्य सञ्चालनका राजकीय तथा सार्वजनिक निकायहरूमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र निर्णायक प्रतिनिधित्वको सुनिश्चितताको लागि नीतिगत र संरचनागत प्रबन्धसहितको व्यवस्था गर्न यो विशेष महाधिवेशनमार्फत दृढ प्रतिबद्धता व्यक्त गर्दछ ।

ग. भाद्र २३ र २४ को विद्रोहको मूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको छ । “भ्रष्ट्राचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता” को त्यो आवाज तथा अभियान आम नागरिककै स्वाभाविक आवाज हो भन्ने नेपाली कांग्रेसको दृष्टिकोण छ । जेन-जी पुस्ताले परिवर्तनका लागि मुखरित गरेका आवाजको सम्बोधन र संस्थागत रूप दिन आज बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने नेपाली कांग्रेसको ठहर छ । सुशासन लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै संविधानको मर्म र मूल्य-मान्यताविपरीत नगई रूपान्तरणसहित देशलाई शान्ति, स्थिरता तथा समुन्नतिको दिशातर्फ अघि बढाउन आसन्न निर्वाचन भन्दा अगाडि नै साझा राष्ट्रिय समझदारी आवश्यक छ । नेपाली कांग्रेस बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आव्हान गर्दछ । त्यसलाई परिणाममुखी बनाउन नेपाली कांग्रेस नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।

घ. नेपाली कांग्रेस विगतमा सरकार र संसदमा रहँदा सुशासन र सेवा प्रवाहका सन्दर्भमा गरेको पहलकदमी अपूर्ण भएको र प्रभावकारी ढङ्गले अगाडि वढाउन नसेकेको तथ्यप्रति आत्मआलोचित हुँदै त्यस्ता कमी-कमजोरीलाई अब नदोहो-याउने प्रतिवद्धता व्यक्त गर्दछ । सुशासनको प्रत्याभूति र विधिको शासनलाई मजबुत बनाउन राज्यका संवैधानिक निकाय, नियामक अंग र विशिष्टीकृत अनुगमनकारी संस्थाहरूको स्वायत्तता सुनिश्चित गर्दै तिनलाई दलीय राजनीतिक प्रभावबाट पूर्णतः मुक् राख्ने संकल्प गर्दछ । संवैधानिक निकाय, विश्वविद्यालय, सार्वजनिक संस्थान र सेवा प्रदायक निकायहरूमा व्याप्त राजनीतिक भागबण्डाको अन्त्य गरी ती संस्थाहरूलाई पूर्णतः व्यावसायिक, गैरदलीय र योग्यताका आधारमा सञ्चालन हुने र समावेशी प्रतिनिधित्व हुने गरी व्यापक संरचनात्मक सुधार गरिने छ ।
भ्रष्टाचार नियन्त्रण, वित्तीय अनुशासन र सुशासनका लागि प्रभावकारी कानून निर्माण र कानुनको कार्यान्वयन, संस्था र निकायहरूको कार्यक्षमता अभिवृद्धि, कार्यविधि सरलीकरण र सुदृढीकरण गर्दै समग्र प्रशासनिक प्रणालीलाई पारदर्शी, चुस्त र जनउत्तरदायी बनाउन नेपाली कांग्रेस दृढ संकल्प गर्दछ ।

विगतमा सत्ता केन्द्रित सहकार्य गरेकोमा गगनको क्षमायाचना
थापाले विगतमा गरिएका सत्ताकेन्द्रित सहकार्य र त्यसले सिर्जना गरेका राजनीतिक संकटका लागि आत्मालोचना सहित क्षमायाचना गरेका छन् ।

‘आत्माआलोचना र क्षमायाचना’ शीर्षकमा महामन्त्री थापाले भनेका छन्–‘विगतमा सरकार वा प्रतिपक्षमा रहँदा जानी(नजानी पार्टी र नेतृत्वबाट भएका गल्ती र अति सत्ताकेन्द्रित सहकार्यका कारण मुलुकलाई सकारात्मक दिशा प्रदान गर्ने क्रममा नेपाली कांग्रेसले लिन नसकेको पहलकदमी र निर्णयका कारण सिर्जना भएका राजनीतिक संकटप्रति हामी गम्भीर आत्मसमीक्षा तथा आत्माआलोचना गर्दै सम्पूर्ण नेपाली आमा(बुबा, दिदी(बहिनी तथा दाजु(भाइहरूसँग विनम्रतापूर्वक क्षमा याचना गर्छौं।’

उनले आगामी दिनमा पार्टी जनताको भावनाअनुसार निष्ठा र सेवाको राजनीतिमा समर्पित रहने जिकिर गरेका छन् ।

‘तिनै कमजोरी र त्रुटीबाट पाठ सिकेर अबउप्रान्त राष्ट्रिय हित एवं लोकतान्त्रिक मूल्य(मान्यताप्रति अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दै यो दोस्रो विशेष महाधिवेशन नेपाली कांग्रेस पार्टी जनताको भावनाअनुसार निष्ठा र सेवाको राजनीतिमा समर्पित रहने दृढ संकल्प गर्दछ ।’उनले प्रतिवेदनमा भनेका छन्–‘पार्टीको तल्लो तहममा परिवर्तनको आवाज मुखरित हुँदै गर्दा केन्द्रमा भने हामीले निर्णय लिनै नसक्ने अवस्थामा पुग्नु बिडम्बनाको विषय हो ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077