काठमाडौं । नेपाली कांग्रेस सभापति शेरवहहादुर देउवा पक्षको कारबाहीमा परिका महामन्त्री गगन थापाले शेरवहादुर देउवा नेतृत्वको कार्य समिति भंग भएर विशेष महाधिवेशन चलिरहेको जानकारी निर्वाचन आयोगलाई यसअघि नै गराइसकिएको बताएका छन् ।
कारबाहीमा परेपछि बन्दसत्रमा विशेष सम्बोधन गर्दै थापाले निर्वाचन आयोगलाई विशेष महाधिवेशनको जानकारी गराइसकेकाले देउवा पक्षले आयोगमा पठाएको पत्र र प्रतिनिधिको औचित्य नरहेको दाबी गरे ।
थापाले भने–मलाई निर्वाचन आयोग लगायत सबै संस्थाहरुप्रति विश्वास छ । वहुमत महाधिवेशन प्रतिनिधिहरु जम्मा भएर विधिसम्म ढंगले आएको परिणामलाई आयोगले मान्यता दिनेछ । मलाई कानून र संविधानप्रति विश्वास छ । नेपाली कांग्रेस कसैको निजी कम्पनी होइन कसैले कसैलाई निकाल्न ।’
‘उहाँहरुले सहमहामन्त्री बद्री पाण्डेलाई निर्वाचन आयोगमा धर्ना राखेर हामीलाई निर्वाचन सार्न जालझेल गरिरहनुभएको रहेछ । मलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएर हामीलाई यता अल्मल्याउने खेल भएको रहेछ । तर हामीले पहिले नै विशेष महाधिवेशन उद्घाटनलगत्तै १४ औं महाधिवेशनबाट निर्वाचित कार्य समिति भंग भएको र नयाँ कार्यसमिति महाधिवेशनबाट निर्वाचित भएपछि अद्यावधिक गराइन्छ भनेर पत्र पठाइसकेका थियौं । साथिहरुले सोध्नु हुन्छ । कांग्रेस के हुन्छ ? चारतारे झण्ड के हुन्छ ? रुख के हुन्छ ? म साथीहरुलाई भन्न चाहन्छु–कांग्रेस एउटै छ । चारतारे झण्डा र रुख हाम्रै हो ।’ थापाले भने ।