काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् ।
भृकुटीमण्डमा जारी बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देउवा समूहको केन्द्रीय समितिको बैठकले थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई पाँच वर्षका लागि निष्काशनको निर्णय गरेलगत्तै थापाले बन्दसत्रमा विशेष सम्बोधन गरेका हुन् ।
पार्टीको आधिकारीक नै विशेष महाधिवेशन पक्षधर रहेको दावी गरेका उनले भने–‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो नि । अब हामी अल्मलिनुपर्ने अवस्था रहेन । विशेष महाधिवेशनको मनोनयनको काम सकियो । नामावलीहरू सार्वजनिक हुँदैछ । संवादका लागि प्रयास भएका थिए सफल भएनन् ।’
विशेष महाधिवेशनले विधिवत र विधानसम्मत नेतृत्व चयन गर्ने भएकाले आफूहरु नै आधिकारीक कांग्रेस भएको उनको दावी थियो ।
देउवा पक्षले गरेको निष्कासन विशेष महाधिवेशनको हलले खारेज गरेको छ । विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वक्तव्य जारी गर्दै कथित निष्कासन प्रकरणलाई महाधिवेशनको हलले खारेज गरेको बताएका छन् ।
उनले कारवाहीको प्रोपगाण्डाबाट विचलित नहुन आह्वान गर्दै विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने दावी गरेका छन् ।