काठमाडौं । भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन उद्घाटन गरेका हुन्।
उनीहरूले दियो बालेर र विरूवामा पानी हालेर महाधिवेशन उद्घाटन गरेका हुन्। उद्घाटन समारोहपछि आजै बन्द सत्र पनि सुरु गरिनेछ ।
विशेष महाधिवेशन उद्घाटन समारोहमा भाग लिनका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिइएको थियो। तर, उनले निम्ता अस्वीकार गरेपछि महामन्त्रीद्वयले महाधिवेशन उद्घाटन गरेका हुन्।

विशेष महाधिवेशनका कारण कांग्रेस दुई धारमा बाँडिएको छ । सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन बहिस्कार गरेका छन् भने महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनको आयोजना गरेका हुन् ।
चोक चोकबाट निस्केको र्यालीमा नारा लागिरहेको छ–‘नेपाली कांग्रेस के भन्छ ? ‘गगन–विश्व’ ले भन्छ ।’ झाँक्री बाजागाजासहितको र्याली भृकुटीमण्डपमा आएर मिसिएको छ । तामझामका साथ उद्घाटन सत्र चलिरहेको छ । प्रतिनिधिहरूले रजिस्ट्रेसन गरिरहेका छन् । प्रतिनिधि कति हुन्छन् त्यसको आधारमा कांग्रेसको नेतृत्व परिवर्तन हुने नहुने निर्धारण हुने छ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार कुपण्डोलसँगै काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट पनि जुलुस भृकुटीमण्डपतर्फ जानेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।