काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र अतिवाद हाबी हुँदै गएको टिप्पणी गर्दै आफू कुनै पनि हालतमा मध्यममार्गी र सत्यको बाटोबाट विचलित नहुने स्पष्ट पारेका छन् ।
काठमाडौमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले मध्यममार्गी धारणा राखेकै कारण पार्टीभित्र विभिन्न किसिमका दबाब झेल्नुपरेको बताए ।
'मध्यममार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुन्छ, तर अन्ततः जित त्यही बाटोकै हुन्छ,' उनले भने, 'म सत्यको बाटोमा छु र यसबाट कुनै हालतमा विचलित हुँदिनँ ।'
उनले पार्टीलाई अतिवादले गाँजेको उल्लेख गर्दै आफू कुनै पनि अतिवादी घेरामा नपरी सन्तुलित र मध्यममार्गी भूमिकामार्फत पार्टीलाई सही दिशामा लैजान प्रतिबद्ध रहेको बताए ।
पार्टी अहिले कठिन परिस्थितिमा रहेकाले संकटबाट जोगाउन मध्यममार्गी नेतृत्वको भूमिका अत्यन्त आवश्यक रहेको उनको धारणा थियो ।
कार्यक्रममा सहभागी नेताहरूले पार्टीको १५औँ महाधिवेशन अझै अन्योलमा रहेको भन्दै त्यसको स्पष्टता र सुनिश्चितता आवश्यक रहेको बताए । तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको उनीहरूको भनाइ थियो ।
डा. कोइरालाले यही फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने घोषणा गर्दै देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको बताए । उनले नेता तथा कार्यकर्तालाई पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान गरे ।
निर्वाचन सहज बनाउन माघ ६ गतेको उम्मेदवारी मनोनयन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिएको जानकारी दिँदै उनले सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्ने र सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।