काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने पदका लागि आज मतदान सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएसँगै बाँकी १७ पदका लागि सातै प्रदेशमा एकसाथ मतदान सुरु भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
बाँकी पदका लागि प्रदेशगत रूपमा तोकिएका मतदान केन्द्रमा बिहानदेखि मतदान सुरु भएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, साथै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। उनीहरूले आ–आफ्नो प्रदेशमा तोकिएको केन्द्रबाट मतदान गर्नेछन्।