काठमाडौं । आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले सोमबार औपचारिक रूपमा नतिजा घोषणा गर्दै रिक्त रहेका १८ पदमा निर्वाचित सदस्यहरूको सूची सार्वजनिक गरेको हो ।
आयोगका अनुसार संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा रिक्त भएका सिट पूर्तिका लागि देशभर विभिन्न प्रदेशबाट निर्वाचन भएको थियो ।
प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि मतदाता रहेको यस निर्वाचनमा तय गरिएको कोटा प्रणालीअनुसार महिला, दलित, अपांग/अल्पसंख्यक तथा अन्य समूहबाट उम्मेदवारहरू निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले सम्पूर्ण प्रदेशबाट आएको मतगणनाको विवरण संकलन गरी अन्तिम नतिजा प्रमाणित गरेपछि सार्वजनिक गरेको जनाएको छ ।
