सिरहा । सिरहामा पोष्टमार्टमका लागि लगिएको एक किशोरीको शव अस्पतालबाटै गायब भएको घटना सार्वजनिक भएको छ । गोलबजार नगरपालिका–३ जमदहकी १६ वर्षीया निशा बानियाँको शव लहानस्थित प्रादेशिक अस्पतालबाट हराएको हो ।
निशा गत शनिबार बिहान करिब १० बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। घटनापछि प्रहरीले उनको शव परीक्षण र पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल लगेको थियो।
तर, सोमबार शव बुझ्न अस्पताल पुगेका आफन्तले निशाको शव अस्पतालमै नरहेको जानकारी पाएपछि आक्रोशित बनेका छन् । अझै गम्भीर कुरा के छ भने अस्पताल प्रशासनले अर्कै युवतीको शव बुझ्न आग्रह गरेपछि स्थिति झनै तनावपूर्ण बनेको हो ।
यसपछि आक्रोशित आफन्त तथा स्थानीय बासिन्दा गोलबजारस्थित पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै प्रदर्शनमा उत्रिएका छन्।
अस्पतालकाले भने सप्तरीको खडक नगरपालिकाबाट पनि शनिबारै उस्तै प्रकृतिको अर्को शव आएको र आइतबार भूलवश उनीहरूले निशाको शव लिएर गएको दाबी गरेको छ । उक्त पक्षले निशाको शव जलाइसकेको र अहिले सप्तरीकी युवतीको शव अस्पतालमै रहेको छ ।
तर मृतकका आफन्तले अस्पताल प्रशासनको दाबीलाई अस्वीकार गर्दै यसलाई गम्भीर लापरबाही मात्र नभई षड्यन्त्रको आशंका गरेका छन्। उनीहरूले सत्य तथ्य बाहिर नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।