भक्तपुर । भक्तपुरको कमलविनायक बसपार्क नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । त्यसपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका-८ निवासी २६ वर्षीय बिमल वनमाला रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका वनमालाको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका-७ इनाचोकका २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।