काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन जित्ने प्रायोजनका लागि मात्रै केही पात्रहरू एक ठाउँमा उभिएको टिप्पणी गरेका छन्।
शनिवार काठमाडौंमा कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०प्रति लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्।
उनले रास्वपालाई लक्षित गर्दै भने- 'निर्वाचन जित्ने उद्देश्यका लागि हिजो दायाँ बायाँ फर्किएका पात्रहरु एकै ठाउँमा जम्मा भएका छन् । केवल चुनाव जित्ने उद्देश्य लिएर मात्रै जम्मा हुनु नयाँपन होइन। नयाँ पार्टी भनेको दृष्टिकोण, कमिटमेन्ट र प्रतिबद्धता भएको पार्टी हो । पुरानो नयाँको भेद केवल शब्दमा छैन, देश सम्हाल्ने दृष्टिकोण र प्रतिबद्धतामा छ । कांग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी हो । महाधिवेशनपछि कांग्रेस नयाँ ऊर्जासहित अघि बढेको छ। देश बनाउन सुझबुझ, धैर्यता, चेतना र जिम्मेवारी आवश्यक छ, र यही शक्ति कांग्रेससँग छ ।'
उनले यसपटक पुरानो पार्टीलाई भोट नदिने र नयाँलाई दिने भन्यो भने ‘पुरानो र नयाँको परिभाषा के हो ?’ भनेर पनि प्रश्न गर्नुपर्ने बताए।
समयक्रममा हरेक कुरा नयाँबाट पुरानो हुने उल्लेख गर्दै थापाले नयाँ र पुरानो बीचको वास्तविक भिन्नता विचार, दृष्टिकोण र प्रतिबद्धतामा हुने बताए।
महाधिवेशनपछि कांग्रेस बदलिएको र नयाँ ऊर्जासहित अघि बढेकोले आजको दिनमा कांग्रेसभन्दा नयाँ अरु पार्टी नभएको जिकिर गरे। उनले देश बनाउनका लागि सुझबुझ, धैर्यता र जिम्मेवारीबोध आवश्यक पर्ने बताए।