काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि जेनजी आन्दोलन भयो । जेनजीको माग सुशासन भए पनि राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनी र प्रशासनका कर्मचारीको मिलेमतोमा सेटिङमा चमेनागृह (क्यान्टिन) संचालनको ठेक्का सेटिङमा दिन लागिएको छ ।
अस्पताल प्रशासनले क्यान्टिन संचालनका लागि टेण्डर डकुमेन्टमा बढी भाडा कबोल गर्ने कम्पनीलाई दिने सर्त राखेको थियो ।
सो बमोजिम क्वालिटी चमेनागृह काठमाडौंले मासिक ९ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ तिर्नेगरी अन्य कम्पनीभन्दा बढी कबोल गरेका कारण उक्त कम्पनीको दरभाउ स्वीकृत गरिएको थियो ।
उक्त कम्पनीलाई सम्झौता गर्न आउनका लागि नियमअनुसार म्याद दिइएको थियो । तर दिइएको म्यादभित्र क्वालिटी चमेनागृह सम्झौता आएन ।
उक्त कम्पनी सम्झौता गर्न नआएपछि त्यो भन्दा मासिक करिब १ लाख ५० हजार कम भाडा कबोल गरेको मनकामना क्यान्टिनलाई दिनका लागि चलखेल गरियो ।
र, गोप्यरुपमा उक्त कम्पनीलाई सम्झौता गर्नका लागि पत्र पठाइएको छ । मनकामना क्यान्टिनले ८ लाख ११ हजार १ सय ११ रुपैयाँ कबोल गरेको छ ।
क्वालिटी र मनकामना एकै समूहका भएको र सेटिङमै धेरै कबोल गरेको क्वालिटी सम्झौतामा नगई दोस्रो कम्पनीलाई पत्र पठाउने चाँजोपाँजो ट्रमा सेन्टरका प्रमुख मरासिनी र कर्मचारीहरुले गरेको आरोप छ ।
कानुनी रुपमा क्वालिटी र मनकामना एकै ब्यक्तिको नभए पनि यो समूहले आफ्ना निकट बिभिन्न ब्यक्तिका नाममा कम्पनी दर्ता गरी क्यान्टिनका टेण्डर कब्जा गर्दैआएको छ ।
यो समूहले फरक फरक दररेटमा बोलपत्र पेश गर्ने र टेण्डर खोलिसकेपछि बढी दरको कम्पनी सम्झौता गर्न नजाने र कम दरको कम्पनीलाई सम्झौता गर्ने कार्य गर्दैआएको छ ।
ट्रमा सेन्टरको क्यान्टिनको ठेक्का जसरी भए पनि हत्याउनका लागि लागिपरेको यो समूहले यसैगरी अन्य अस्पतालका चमेनागृहका ठेक्का पनि सरकारलाई हानीनोक्सानी पार्दै हत्याउँदैआएको छ ।
जानाजान अस्पताललाई मासिक १ लाख ५० हजार रुपैयाँ घाटा पर्नेगरी यो गिरोहको सेटिङमा ट्रमा सेन्टरका प्रमुख डा. मरासिनी र प्रशासनका कर्मचारीहरुले क्यान्टिनको ठेक्का मनकामनालाई दिन लागेका छन् ।
अस्पतालका प्रमुखले बिभिन्न कम्पनी खोलेर क्यान्टिनको ठेक्का कब्जा गर्दैआएका बिजय साहसँग सेटिङ मिलाएर कम कबोल गर्ने मनकामनालाई सम्झौताका लागि पत्र पठाएको आरोप छ ।
बिजय साहले आफन्तका नाममा मनकामना क्यान्टिनदेखि बिभिन्न नाममा आधा दर्जन कम्पनी खडा गरी अस्पतालका टेण्डर कब्जा गर्दैआएका छन् ।
साहले मनकामना आफ्नै भएको स्वीकार गर्दै क्वालिटी आफ्नो नभएको दाबी गरेका छन् । अस्पतालका प्रमुख क्यान्टिनको ठेक्कामा अस्पताललाई मासिक १ लाख ५० हजार नोक्सान पार्दै बिजय साहको प्रलोभनमा परेको बिषयमा प्रतिक्रिया लिन प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
अस्पताललाई नोक्सान हुनेगरी हुन लागेको सम्झौता रोकी नयाँ टेण्डरको सूचना जारी हुनुपर्नेमा बिजय साहसँग सेटिङ गरी अस्पताललाई आर्थिक नोक्सानी पार्ने कार्य रोक्न सरोकारवालाहरुले स्वास्थ्य मन्त्रालयसमक्ष माग गरेका छन् ।