काठमाडौं । नेपालले आइसीसी टी-२० विश्वकपको वार्म-अप खेलमा युएईमाथि ७ विकेटको जित निकालेको छ ।
चेन्नाईस्थित एमए चिदम्बरम स्टेडियममा मंगलबार भएको खेलमा युएईले दिएको १४६ रनको लक्ष्य नेपालले १८ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको अविजित शतकीय साझेदारी निर्णायक बन्यो । आरिफ शेखले ३७ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्दतमा अविजित ६१ रन र दीपेन्द्र सिंह ऐरीले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित ५० रन पूरा गरे ।
ओपनर कुशल भुर्तेल ८ र आसिफ शेखले ८ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
युएईका लागि सोहैब खानले सर्वाधिक अविजित ३८ रन बनाए भने हर्षित कौशिकले ३५ र अर्यान्श शर्माले २५ रनको योगदान दिए।
नेपालका बलरहरूले युएईलाई ठुलो स्कोर बनाउनबाट रोक्न सफल भए। बलिङतर्फ स्पिनर सन्दिप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए।
त्यस्तै, करण केसीले ३ ओभरमा २६ रन दिँदै २ विकेट हात पारे। ब्याटिङमा चम्किएका दीपेन्द्र सिंह ऐरीले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट लिए ।