Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जन्तेढुङ्गामा बिहे भोज खाएका बेहुला बेहुलीसहित १ सयभन्दा धेरै बिरामी, शिविर राखेर उपचार

जन्तेढुङ्गामा बिहे भोज खाएका बेहुला बेहुलीसहित १ सयभन्दा धेरै बिरामी, शिविर राखेर उपचार

आइतवार , माघ २५, २०८२

काठमाडौं । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सय जना भन्दा बढी बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ ।

भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बिरामी परेकामध्ये केहीको गम्भीर छ। बिहे भोज खाने सबै गाउँले बिरामी परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट इन्सपेक्टर विजय लामिछानेको नेतृत्वमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

स्थानीय वर्णबहादुर राईका छोरा किशोर राईको यही माघ २१ गते विवाह भएको थियो। घरमा बेहुली भित्र्याएपछि राई परिवारले माघ २२ गते गाउँलेका लागि भोजको आयोजना गरेका थिए। 

पाहुना र गाउँले गरि झण्डै डेढसय जनाले मासुभात, दाल तरकारी, अचारसहितको भोज खाएका थिए। भोज खानेजति सबै बिरामी परेको खबर आएपछि अनुसन्धानका लागि प्रहरी खटिएको हो । 

स्वास्थ्यकर्मीहरुले भोज खानेलाई ‘फुडपोइजन’ भएको आशंका गरेका छन्। स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेल पनि घटनास्थलमा पुगेका छन्। 

भण्डै ३० जनाको अहिले उपचार चलिरहेको प्रहरीले जनाएको छ। चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रबाट गएका ७ जना स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिएका छन्। 

बिरामीको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन्। विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए। 

उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको व्यवस्था  मिलाइएको हो।

भोज खाएर फर्किएका उदयपुर, काठमाडौँलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिए। 

शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ। भोज खाएर काठमाडौं आएका एकजना बिरामी उपचारको लागि टेकुमा भर्ना भएका छन्। बिरामीमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने जस्ता समस्या देखिएको स्वास्थ्यर्मीले बताएका छन्।

फुडप्वाइजनको कारण बेहुला र बेहुलीसमेत बिरामी परेका छन्। उनीहरू सहितका बिरामीलाई स्लाइनपानी, जीवनजल लगायतका औषधि दिएर उपचार भइरहेको छ। 

विवाहमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ । केही उपचारपछि घर फर्किएका स्वास्थ्यकर्मीहरूले बताएका छन् । भोजमा भएको ‘फुडपोइजन’को कारण पत्ता लगाउने प्रयास भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिएका छन् । 

बिरामी चाप बढ्दै गएपछि आधारभूत अस्पतालमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077