काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको ऐतिहासिक पहिलो भेटमा नेपालले जितका लागि १८५ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो ।
इंग्ल्यान्डका ज्याकोब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५५ रनको उत्कृष्ट इनिङ्स खेले ।
५७–३ को दबाबपूर्ण अवस्थामा उनले कप्तान ह्यारी ब्रुकसँग पाँचौँ विकेटका लागि ७१ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए ।
कप्तान ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन जोडे । जस बटलरले १७ बलमा २६ रन बनाउँदै इंग्ल्यान्डको स्कोर उचाल्न सहयोग गरे ।
नेपालका लागि ओपनर फिल साल्टलाई शेर मल्लले मात्र १ रनमा आउट गर्दै इंग्ल्यान्डलाई सुरुआतमै धक्का दिए ।
बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै समान २–२ विकेट लिए । दीपेन्द्रले ज्याकोब बेथेल र साम करनलाई आउट गर्दा नन्दनले जस बटलर र कप्तान ह्यारी ब्रुकलाई पभेलियन फर्काए ।
सन्दीप लामिछाने र शेर मल्लले एक–एक विकेट लिए । सन्दीपले टम बान्टमलाई एलबीडब्लू आउट गरे भने शेरले फिल साल्टको विकेट लिएका हुन् ।