काठमाडौं । शिवरात्रीमा पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको शंकास्पद मृत्यु भएको छ । शिवरात्रीको भोलिपल्ट एक युवकको शव पशुपतिनाथको मन्दिर परिसरमा भेटिएपछि उनको हत्या भएको आशंका गरिएको छ ।
शव भेटिएपछि प्रहरी वृत्त गौशालाले घटनास्थल मुचुल्का गरेर शवको अनुसन्धान अघि बढाएको जनाएको छ ।
मृतक व्यक्तिको शरीरमा निलडाम र चोट पटक देखिएपछि मृत्यु शंकास्पद भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि अनुसन्धानमा खटिएको छ ।
मृतक व्यक्ति संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी रहेको खुलेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । मृत फेला परेका गिरी पशुपति क्षेत्रमै बस्ने, मागेर खाने गरेको प्रहरीको भनाइ छ ।
शवको प्रकृत हेर्दा हत्याको आशंका गर्दै प्रहरीले पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि थप विषयहरु खुल्ने प्रहरीले बताएको छ ।
प्रहरी स्रोतका अनुसार यो घटनामा एक ‘बाबा’ जोडिएका छन् । शिवरात्रीमा पशुपति आएका एक बाबाको मोबाइल हराएको थियो । उक्त मोबाइल अहिले मृत फेला परेका गिरीले चोरको आरोप बाबाको थियो । सोही कारण बाबामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लामो समय भारतको बनारस बसेका ‘बाबा’ पछिल्लो समय भने नेपालमै बस्थे । प्रहरीका अनुसार राजवंशी थरका उनी नेपाली नागरिक नै हुन् । प्रहरीका अनुसार ती बाबा अहिले भने फरार छन् ।