रौतहट । रौतहटको गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजकलाई पक्राउ गरेको छ ।
गौर नगरपालिका–६ सवगढाबाट शुरु भएको दुई समुदायबीचको विवादमा संलग्न रहेको आरोपमा प्रहरीले शेख जमशेदलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनी जनमत पार्टीका जिल्ला संयोजक हुन् भने सोही वडाका पूर्व अध्यक्ष पनि हुन् ।
बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी गएपछि भएको विवादले हिंसात्मक रुप लिएको थियो । हिजो शुक्रबार दिनभरको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति समेत गराएको थियो ।
तर, आज बिहानबाटै पुनः सवगढामै दुई पक्षबीच झडप भएको छ । अहिले रौतहटका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यू समेत लगाएको छ ।
सवगढा घटनामा शेख जमसेदको संलग्नताका केही प्रमाण समेत फेला पारेको प्रहरी स्रोतको दाबी छ । प्रहरीले जमसेदलाई घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा लगेको छ ।
झडप नियन्त्रणमा लिन प्रहरी ५० थान भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो भने दर्जनौं राउण्ड हवाइ फायर समेत गरेको थियो ।
प्रजातन्त्र दिवसको दिन रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच भएको सामान्य भनाभन तीन दिनमै उग्र साम्प्रदायिक दंगामा परिणत भएको थिया्।
तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना बढ्दै गएपछि अन्ततः प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सदरमुकामबाट सुरु भएको विवाद क्रमशः अन्य स्थानमा समेत फैलिएको छ। गौर नगरपालिकाका विभिन्न वडामा धार्मिक स्थल र सवारी साधन लक्षित आक्रमण भएपछि सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको छ।
प्राप्त प्रारम्भिक विवरणअनुसार रौतहटको चार स्थानको मुस्लिम समूदायको धार्मिक स्थल मस्जिदमा आगजनी गरिएको छ । गौर नगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक रहेको मस्जिदमा आगजनी गरिएको छ।
त्यस्तै, गौर नगरपालिका–५ को उत्तरपट्टि रहेको अर्को मस्जिदमा समेत आगो लगाइएको छ। गौर नगरपालिका–८ पुरेनवामा निर्माणाधीन मस्जिदमा सामान्य तोडफोड गरिएको छ। धार्मिक स्थलमा लक्षित आक्रमण भएपछि स्थानीयस्तरमा त्रासको अवस्था सिर्जना भएको छ।
सोही दंगाका क्रममा हालसम्म ५ वटा मोटरसाइकल, २ वटा स्कुटर, १ वटा स्कार्पियो गाडी र १ वटा ई–रिक्सा गरी जम्मा ९ वटा सवारी साधन पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
त्यसैगरी २ वटा मोटरसाइकल र १ वटा ई–रिक्सा गरी ३ वटा सवारी साधन तोडफोड गरिएको छ। क्षतिको विस्तृत मूल्यांकन कार्य जारी रहेको छ।
ढुंगा हानाहानका क्रममा गौर नगरपालिका–६ निवासी अन्दाजी ४६ वर्षीय भगरित साहको टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ। यसअघि घाइते भएका ६ जना स्थानीय उपचारपछि डिस्चार्ज भइसकेका छन् भने घटनामा घाइते भएका २ जना प्रहरी कर्मचारीसमेत उपचारपछि कार्यालय फर्किएका छन्।
रौतहट प्रशासनले दंगा भड्काउने आरोपमा जनमत पार्टीका नेता शेख जमशेद सहित करिब २० जना लाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । सामाजिक परिवेशमा खलल पुर्याउनेहरुलाई नियन्त्रणमा लिई प्रशासनले अनुसन्धान थालेको छ ।
कडा सुरक्षा व्यवस्था
घटनापछि गौर क्षेत्रमा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। संवेदनशील क्षेत्रमा अतिरिक्त प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। गत ७ गतेदेखि सुरु भएको दंगा अहिलेसम्म् नियन्त्रणमा नआएपछि यसको असर आगामी निर्वाचनसम्म पर्ने देखिएको छ ।
जसको कारणले तीनै तहको सुरक्षाकर्मीलाइ हाइअलर्टमा परिचालन गरिएको छ भने प्रशासनले सर्वसाधारणलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।