काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले यतिबेला तराईका धेरैजसो भू-भागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र लुम्बिनी प्रदेशका उच्च भू-भागमा पनि आंशिक बादल लागेको देखिए पनि अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको छ।
पहाडी र हिमाली क्षेत्रका केही सीमित स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ जसले गर्दा ती क्षेत्रमा चिसोको मात्रा बढेको महसुस गरिएको महाशाखाले जनाएको छ ।
सोमबारको पूर्वानुमान अनुसार तराईका जिल्लाहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ जसका कारण जनजीवन र यातायातमा केही प्रभाव पर्न सक्ने देखिएको छ।
देशका हिमाली भू-भागमा दिनभरजसो बादल लाग्ने सङ्केत देखिए पनि तराई क्षेत्रमा भने दिउँसोतिर मौसम सफा रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भेगका एक(दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायम रहेको महाशाखाको भनाइ छ ।