धनुषा । धनुषाको औरही गाउँपालिकामा एक १८ वर्षीय युवकको बीभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका दुई दाजुलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन आयोजना गरी हत्याको कारण प्रेम सम्बन्ध र त्यसबाट उत्पन्न विवाद रहेको खुलासा गरेको हो।
a
पक्राउ पर्नेहरूमा काजल कुमारी मण्डल, २० वर्षीय दीपेशकुमार मण्डल र २९ वर्षीय परमेश्वर मण्डल रहेका छन्।
गत फागुन १४ गते औरही गाउँपालिका–६, चक्करस्थित मसुरी खेतमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको थियो।
मृतकको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौलका १८ वर्षीय सुमितकुमार मण्डलको रूपमा भएको छ। उनी स्थानीय सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिए।
प्रहरीको अनुसन्धानअनुसार मृतक सुमित र हंसपुर नगरपालिका–६ बस्ने १७ वर्षीया काजल कुमारी मण्डलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध थियो।
फागुन १३ गते साँझ काजलले सुमितलाई आफ्नो घरमा बोलाएकी थिइन्। सोही समयमा काजलका परिवारका सदस्यहरूले उनीहरूलाई फेला पारेपछि विवाद सुरु भएको थियो।
विवाद बढ्दै गएपछि काजलका दाजु दीपेशकुमार र काकाका छोरा परमेश्वर मण्डलले सुमितलाई नियन्त्रणमा लिएर हात बाँधी मोटरसाइकलमा राखेर एकान्त ठाउँमा पुर्याएका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, अभियुक्तहरूले सुमितलाई घरबाट करिब डेढ किलोमिटर टाढा लगेर खुकुरी प्रहार गरी घाँटी रेटेर हत्या गरेका थिए।
हत्यापछि अभियुक्तहरूले प्रमाण लुकाउन सुमितको मोटरसाइकल विदेह नगरपालिका–१ स्थित एक साथीको घरमा लुकाएर राखेका थिए । प्रहरीले उक्त मोटरसाइकल, हत्यामा प्रयोग गरिएको धारिलो हतियार ९खुकुरी० र हात बाँध्न प्रयोग गरिएको डोरी समेत बरामद गरेको छ ।
हाल उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।