काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले मतपेटिका सुरक्षित रूपमा संकलन भएसँगै मतगणना कार्य तत्काल सुरु गरिने बताएका छन् ।
बिहीबार साँझ आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मतदान सकिएपछि देशभरबाट मतपेटिका संकलन कार्य तीव्र रूपमा अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार, निर्वाचन निर्देशिका २०८२ अनुसार मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलमा पुगेपछि तुरुन्तै मतगणना प्रक्रिया सुरु गरिनेछ ।
दुर्गम जिल्लाबाट मतपेटिका सुरक्षित ढुवानी गर्न आयोगले हेलिकप्टर प्रयोग गरेको जनाएको छ। ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सबै मतपेटिका बिहीबार नै सम्बन्धित मतगणना केन्द्रमा पुर्याउने लक्ष्य राखिएको आयोगले बताएको छ।
त्यस्तै संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लाका मतपेटिका भने शुक्रबार बिहानसम्म मतगणना स्थलमा पुग्ने अपेक्षा गरिएको भण्डारीले जानकारी दिए।