गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।
प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता विज्ञानराज शर्माले घटनामा संलग्नहरुलाई कारबाही सिफारिस गरिएको जानकारी दिए । उनले सुरक्षामा कमजोरी भएको पाइएको बताए ।
प्रधानमन्त्री कार्कीर्ला प्रतिवेदन बुझाएर फर्किने क्रममा प्रधानमन्त्री कार्यालय बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केही व्यक्तिहरुमाथि कारबाही सिफारिस भएको बताए ।
शर्मासँग प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरमा भएको कुराकानी :
० प्रतिवेदनमा के छ ?
– प्रतिवेदनमा हामीले २३ र २४ गते देखेका कुराहरुको फ्याक्ट फाइन्डिङ गर्ने प्रयास गरेका छौं । हामीले देखेको, बुझेको जानेको र प्रमाणको आधारमा हामीले राय सुझाव दिएका छौं ।
अब यो सम्पत्ति सरकारको भयो । अब सरकारले आवश्यक कारबाही गर्ने, पुरस्कृत गर्नुपर्ने हो कि गर्ने हो सरकारले गर्छ ।
० कारबाहीको सिफारिस गरेको छ आयोगले ?
– छ ।, जसले गल्ती गरेको छ, त्यसलाई कारबाही हुन्छ ।
० जनताको स्पष्ट डिमान्ड त कारबाही गर, हतकडी लगाउ भन्ने छ नि ?
– ठिक छ, त्यो अब सरकारको सम्पत्ति भएको हुनाले सरकारले यो विषयमा बोल्छ ।
० ककसलाई कस्तो कारबाही सिफारिस भएको छ ?
–कारबाही सिफारिस गरेको छ । यो कुरा म यहाँ बोल्दिनँ ।
० कति पृष्ठको प्रतिवेदन छ ? मूलभूत रुपमा २३ गते र २४ गतेको घटनालाई कसरी हेरेको छ ?
– करिव ९ सय प्लस पेजहरु छन्, अनुसूची पनि छन् । सबै गर्दाखेरि ८ देखि १० हजारसम्मको पेजहरु हुन्छ । त्यसमा मिहिन रुपमा २३ गते र २४ गतेको घटनाहरुको विषयमा छ ।
० तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई फौजदारी अभियोग लगाइएको छ भन्ने कुरा पनि छ नि ?
– जसले गल्ती गरेको छ, उसलाई लगाइएको छ । त्यसमा कुनै दुईमत छैन ।
० यो घटना घट्नुमा केके ल्याप्सेस भएको छ ?
– केही सेक्युरिटी ल्याप्सेस भा छ । निश्चय पनि संसद भवन परिसरमा सुरुबाटै ब्यारिकेडदेखिकै केही कमीकमजोरीहरु देखिएको छ । त्यत्ति हो ।
० जो दोषी छन् उनीहरुलाई फौजदारी अभियोगमै कारबाहीको सिफारिस छ वा प्रशासनिक खालको ?
– कारबाहीलाई सिफारिस छ । म डिटेल कुरा अहिले भन्दिनँ तपाईंहरुलाई ।
० फौजदारी छ कि छैन ?
– म भन्दिनँ ।
० कति जनालाई कारबाही सिफारिस गर्नुभाछ ? नम्बर त भन्न मिल्ला नि ?
– कारबाही सिफारिस भाछ ल ।
० प्रधानमन्त्रीसँग कुरा हुँदा प्रधानमन्त्रीको मनस्थिति आफैंले सार्वजनिक गर्ने भन्ने छ कि अर्को सरकारले गरोस् भन्ने छ ? तपाईंले के बुझ्नुभयो ?
– यो विषयमा प्रधानमन्त्रीज्यूले हामीलाई धन्यवाद दिनुभयो । यो सरकारको सम्पत्ति भयो । अब हामीले के गर्नुपर्छ गर्छौं भन्नुभाछ ।
० हिजो मल्लिक आयोग थियो, रायमाझी आयोग थियो, तपाईंहरुको हालत पनि त्यस्तै हुने त होइन ?
– हुँदैन । यो कुरामा ढुक्क हुनुस् ।
० जाँचबुझको क्रममा कति जनालाई सोधपुछ गर्नुभयो ?
–हामीले करिब २ सय प्लस मान्छेहरुलाई गर्यौं । केही बयान कागजहरु पनि गरायौं । केही साक्षी पीडित लगायत जान्ने बुझ्ने विज्ञहरुसँग पनि हामीले रायसुझाव लियौं ।