काठमाडौं । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर–१ को मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको छ ।
सोमबार बसेको आयोगको बैठकले धनुषा–१ का निर्वाचन अधिकृतलाई मतगणनाबाट प्राप्त परिणाम घोषणा गर्न निर्देशन दिएको हो ।
आयोगले सर्वोच्च अदालतबाट अन्यथा आदेश आएमा सोही अनुसार हुने गरी हाल कायम रहेका उम्मेदवारहरूले प्राप्त गरेको मत परिणाम सार्वजनिक गर्न भनिएको जनाएको छ।
आयोगले जारी गरेको निर्देशनमा भनिएको छ, 'सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२/११/२९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोक्ने भनी भएको आदेश बमोजिम, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ धनुषाको निर्वाचन परिणामको सम्बन्धमा अदालतबाट अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाल कायम रहेका उम्मेदवारहरूले प्राप्त गरेको मत परिणाम घोषणा गर्न धनुषा–१ का निर्वाचन अधिकृतलाई निर्देशन दिने।'
यसअघि कालोसूचीमा परेको कारण देखाउँदै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सो रिटमाथि सोमबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। निवेदक पक्षका कानुन व्यवसायीको बहस सुनेपछि अदालतले आगामी शुक्रबार अन्तरिम आदेशबारे छलफलका लागि निर्वाचन आयोगलाई उपस्थित हुन बोलाएको छ।