काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरुबिचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो माग गरेका हुन् ।
विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे ।
उनले भने- 'विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ । सबै नेताहरुले चुनावमा एकजुट भएर जाऔँ अधिवेशन चाहीँ चुनाव पछि नै गरौँ भनेका थियौँ । तर त्यो कुरा मानिएन । विशेष अधिवेशन नामको एउटा भेला गरियो । र पार्टीलाई क्याप्चर गरियो । यही विशेष अधिवेशनको कारणले आज हामी हारेका छौँ । गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास हो ।'
पार्टीको विशेष महाधिवेशनको औचित्य पनि समाप्त भइसकेको उनको भनाई छ ।