विराटनगर । मोरङको विराटनगरस्थित राजवंशी चोक नजिकै बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ ।
राजवंशी चोकबाट नोवेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भित्री सडक खण्डमा दुर्घटना हुँदा मोटरसाइकल चालक कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीमा कार्यरत ४० वर्षीय सई मिनबहादुर बोहरा गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि नोवेल अस्पताल, विराटनगर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार बोहराको स्थायी दरबन्दी हिरासत व्यवस्थापन शाखा, झापामा रहेको बुझिएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशल कुमार बस्नेत घाइते भएका छन्। उनको नोवेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतक बोहराको बुधबार नै विराटनगरस्थित परोपकार घाटमा अन्त्येष्टि गरिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।