काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने बताएका छन् ।
शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता तामाङले यस्तो बताएका हुन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिएर कोही पनि नेता उम्किन नसक्ने टिप्पणी पनि गरे । उनले भने–‘नेकपा एमालेका तर्फबाट जनमत स्वीकार गरेका छौँ । श्रद्धेय अध्यक्षले पनि स्वीकार गरिसक्नुभएको छ । पार्टीभित्र यसको समीक्षा हुन्छ । कोही एक जना व्यक्तिलाई दोष लगाएर कोही पनि उम्किन पाउँदैन । म पनि उम्किन पाउँदिन ।’
एमालेभित्र कोही अमुक नेताले अर्को नेतालाई दोष लगाएर आफू चोखो छु भन्ने ट्रायल भइरहेको बताउँदै उनले त्यो कुरा गलत भएको टिप्पणी गरे ।
पार्टी अध्यक्ष वा कोही नेताले अहिल्यै छाडेर केही नहुने बताउँदै उनले भने–‘कसैले छोड्नै चाहनुहुन्छ भने त्यो उहाँको निजी कुरा हो । कसैले दबाब दिएर छोड्नुपर्छ, नैतिकता देखाउनुपर्छ भन्न थाल्यो भने त्यो नैतिकताको प्रश्न हुँदैन, दबाबको प्रश्न हुन्छ ।’
उनले अगाडि भने–‘कसैले छाडेर केके न सिङ–जरो उम्रिहाल्छ भन्ने छैन । हामीलाई त्यो लाग्दैन । सिंगो पार्टीको समग्र पक्षको समीक्षा गरेर निष्कर्ष निकाल्छौँ ।’
निर्वाचनमा एमालेका नेता जाँदा जनताको अत्यन्त राम्रो स्वागत र प्रतिप्रश्न नपाएको उनले बताए ।