काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पछिल्लो अभिव्यक्तिको खुलेर प्रशंसा गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नवनिर्वाचित सांसदहरूलाई लामिछानेले दिएको अभिमुखीकरणलाई सकारात्मक र सन्देशमूलक बताएका हुन्।
उनले रास्वपाले हालैको आमनिर्वाचनमा प्राप्त गरेको जनमतलाई केवल एउटा दलको सफलता नभई समग्र नेपाली राजनीतिमा पुनर्संरचना र पुस्तान्तरणको संकेतका रूपमा व्याख्या गरेका छन्।
भट्टराईले लेखेका छन्, अत्यधिक जनमत पाएको रास्वपालाई सबैले आशा, ईर्ष्या र सतर्कतासाथ हेर्नु स्वाभाविक हो।'
लामिछानेको अभिव्यक्तिमा विनम्रता देखिएको उल्लेख गर्दै उनले नेपाली उखान उद्धृत गरेका छन्—
‘फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ’, र उक्त संस्कार कायम रहनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार रास्वपाले पाएको मत कुनै एक व्यक्ति वा दलको मात्र नभई समग्र परिवर्तनको आकांक्षाको अभिव्यक्ति हो।
भट्टराईले पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नुभन्दा उनीहरूको ऐतिहासिक भूमिकाको सम्मान गर्दै प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
हालै सम्पन्न आमनिर्वाचनपछि रास्वपाले आफ्ना सांसदहरूलाई संसदीय अभ्यास, राजनीतिक संस्कार र जिम्मेवारीबारे जानकारी दिन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो। सोही कार्यक्रममा लामिछानेले व्यक्त गरेका विचारप्रति भट्टराईले शुभकामनासहित सकारात्मक प्रतिक्रिया जनाएका हुन्।