काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले लेन अनुशासन कायम नगर्ने सवारीसाधनमाथि कडाइ गर्दै १६० चालकलाई कारबाही गरेको छ ।
मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सचेतना तथा कारबाही कार्यक्रममा ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालकहरूलाई नियन्त्रणमा लिएको हो ।
कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीसहितको टोलीले सिंहदरबार चोकमा स्थलगत अनुगमन गर्दै ट्राफिक व्यवस्थापनको अवस्था निरीक्षण गरेको थियो ।
सो क्रममा चालकहरूलाई लेन अनुशासनको महत्वबारे प्रत्यक्ष रूपमा सचेतना दिइएको थियो। ट्राफिक प्रहरीले लेन मिच्ने, अव्यवस्थित रूपमा सवारी चलाउने तथा अन्य नियम उल्लङ्घन गर्ने चालकहरूमाथि विशेष निगरानी गर्दै कारबाही गरेको जनाएको छ।
यस अभियानमा चालकहरूलाई ट्राफिक नियम पालना, यात्रु सुरक्षा सुनिश्चित गर्ने र सेवा सुधार गर्ने विषयमा समेत जानकारी दिइएको थियो।
प्रहरीका अनुसार लेन अनुशासन उल्लङ्घनका कारण हुने दुर्घटना न्यूनीकरण गर्न यस्तो अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइनेछ।
“ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,” भन्दै ट्राफिक प्रहरीले सबै चालकलाई नियमको पालना गर्न अपिल गरेको छ।