सुनसरी । सुनसरीका विभिन्न स्थानीय तहमा बर्ड फ्लू सङ्क्रमण फैलिँदै गएको छ । जिल्लाका विभिन्न स्थानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ ।
इनरुवा नगरपालिका–२ कुसुमगाछीमा सुमनकुमार राईले पालन गरेका ब्रोइलर कुखुरा र इटहरी–१६ स्थित सुमन गोविन्द श्रेष्ठले पालेका स्थानीय जातका कुखुरा र हाँसमा बर्ड फ्लू सङ्क्रमण पुष्टि भएको हो ।
जिल्लाका विभिन्न ठाउँमा कुखुरा फार्म परीक्षण गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट रोग पुष्टि गरेसँगै नियन्त्रणका उपाय तीव्र पारिएको केन्द्रले जनाएको छ ।
सङ्क्रमण फैलिन नदिन फार्म वरपरका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने अन्य कुखुरा फार्ममा पनि निगरानी कडा गरिएको छ ।
कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन तथा बाह्य सम्पर्कबाट कुखुरालाई जोगाउन किसानलाई आग्रह गरिएको
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोले बताए ।
उनका अनुसार जिल्लामा हालसम्म शङ्कास्पद लागेका १४ वटा फार्मबाट १९ हजार ३६५ कुखुरा नष्ट गरिएको छ ।