Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौंमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । काठमाडौंमा बर्डफ्लु पुष्टि भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका ३ वटा वडामा घातक मानिने ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) पुष्टि भएको हो ।

नगरपालिकाको वडा नं. २, ३ र ४ मा बर्डफ्लुको सङ्क्रमण देखिएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । नगरपालिकाले यसको नियन्त्रण र रोकथामका लागि विशेष अभियान सुरु गरेको जानकारी दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीले रोग पुष्टि भएका क्षेत्रहरूमा रहेका सम्पूर्ण हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षीहरू तथा तिनका अन्डा र दानालाई पूर्णरूपमा नष्ट गर्ने कार्य भइरहेको बताए ।

रोग अन्य क्षेत्रमा फैलिन नदिनका लागि प्रभावित क्षेत्रमा सुरक्षित तवरले पंक्षीहरूको विसर्जन (डिस्पोज) गरी निसंक्रमणको कार्यलाई तीव्रता दिइएको नगरपालिकाले जनाएको छ । 

बर्डफ्लु पंक्षीहरूबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग भएकाले नगरपालिकाले सर्वसाधारण र फार्म सञ्चालकहरूका लागि निर्देशनहरू जारी गरिएको छ ।

नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशलाई पूर्णतः निषेध गर्न र प्रवेश गराउनै पर्ने अवस्थामा अनिवार्य रूपमा निसंक्रमण गरेर मात्र प्रवेश गराउन अनुरोध गरेको छ ।

यस्तै, एउटा फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जाँदा सङ्क्रमण फैलने डर हुने भएकाले त्यसो नगर्न र प्रयोग भइसकेका अन्डा राख्ने कागजको क्रेटलाई पुनः प्रयोग नगर्न समेत सचेत गराइएको छ ।


फार्म परिसरलाई दैनिक रूपमा निसंक्रमण गर्न र फार्मभित्र कुकुर, बिरालो, मुसा जस्ता अन्य जनावरलाई प्रवेश गर्न नदिन समेत भनिएको छ ।

उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले मासु तथा मासुजन्य पदार्थहरूलाई राम्ररी पकाएर मात्र सेवन गर्न र पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न सूचित गरेको छ ।

‘सतर्क बनौँ, बर्डफ्लुबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऔँ’ भन्ने आह्वानका साथ गोकर्णेश्वर नगरपालिकाले यस महामारीलाई नियन्त्रणमा लिन आम जनसमुदाय र सरोकारवालाहरूबाट निरन्तर सहयोगको अपेक्षा गरेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077