काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रममन्त्री दीपकुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा पुनः नियुक्त गरेको समाचार बाहिरिएपछि श्रममन्त्री नै विवादमा परेका छन् ।
यसअघि बीमा बोर्डको सदस्यमा मनोनीत भएकी श्रेष्ठ ८ पटकसम्म बैठकमा अनुपस्थित भएपछि कारबाहीमा परेकी थिइन् । २०८१ वैशाख ४ गते बीमा बोर्डले स्वास्थ्य मन्त्रालयलाई नै ‘आवश्यक कार्यान्वयन सम्बन्धमा’ भन्दै पत्र काटेको थियो ।
कार्यकारी निर्देशक रघुराज काफ्लेको हस्ताक्षर रहेको उक्त पत्रमा भनिएको छ–‘२०८१ पुस १ गतेदेखि चालू आव २०८१ र ०८२ को चौथो बोर्ड बैठकदेखि हालसम्म एघारौँ बोर्ड बैठक बसिसक्दा लगातार अनुपस्थित रहेको देखिन्छ । बोर्डको सदस्यको अनुपस्थितिले यस बोर्डको बैठक र निर्णय प्रक्रिया प्रभावित हुँदै आएको छ । यस सम्बन्धमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा १ (घ) मा बोर्डलाई जानकारी नदिई लगातार तीन पटक बोर्ड बैठकमा अनुपस्थित भएमा उक्त पद रिक्त हुने व्यवस्था समेत रहेकोले नियम बमोजिम आवश्यक कार्यान्वयनको लागि अनुरोध गर्दछु ।’
स्वास्थ्य बीमा ऐन २०७४ को दफा २५ को उपदफा १ ले निरन्तर तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन हुने व्यवस्था गरेको छ ।
ऐनमा भनिएको छ–‘बोर्डलाई जानकारी नदिई लगातार तीन पटक बोर्डको बैठकमा अनुपस्थित भएमा अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकको पद रिक्त मानिनेछ ।’
भौतिक रूपमा उपस्थिति नभएपछि जुनुलाई हटाएर बोर्ड सदस्यबाट रिक्त बनाइएको थियो । उनी हटाइएपछि अहिले एक सदस्य पद रिक्त राखिएको छ । उनको नाम बीमा बोर्डको वेबसाइटमा समेत छैन ।
तर एकाएक श्रेष्ठले सोमबार बसेको बैठकमा उपस्थित जनाएको स्रोतको दावी छ । अध्ययनका लागि बेलायत गएकी उनले केही समय अगाडि फर्किएपछि आफू उपस्थित हुन पाउनुपर्ने माग बोर्डका सदस्यसँग राखेकी थिइन् ।
श्रेष्ठले स्वास्थ्य मन्त्री निशा मेहतासँग भेटेर आफ्नो विषयमा छलफल गरेकी थिइन् । यसअघिका दुई वटा बैठकमा उनलाई नबोलाइएको भएपनि सोमबारको बैठकमा भने उनी उपस्थित भएकी थिइन् ।
श्रेष्ठ यसअघि २०८०/०८/१२ को मन्त्रीस्तरको निर्णयानुसार चार वर्षका लागि बोर्डको सदस्य बनेका थिइन् । उनलाई तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।
यद्यपी श्रेष्ठले भने आफ्नो बचाउ गर्दै खण्डन गरेकी छन् । उनले आफू नियुक्त नभएको र पत्रसमेत नलिएको स्पष्टीकरण दिएकी छन् । श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्–‘स्वास्थ्य बीमा बोर्ड सदस्य सम्बन्धी आइरहेको खबर प्रति मेरो कुनै सम्बन्ध छैन र मैले मनोनयन सम्बन्धी कुनै पत्र पनि बुझेको छैन ।’
जुनुले यसअघिको नियुक्ति पत्र सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छिन्–‘स्वास्थ्य बीमा बोर्ड सदस्यमा मेरो नियुक्ति २०८० सालमा भएको हो । २०८० सालमा भएको यो नियुक्ति चार वर्ष अर्थात् २०८४ सालसम्मका लागि हो । अहिलेको पुनः नियुक्तिको विषय मेरो जानकारीभन्दा बाहिरको विषय हो । साथै, मैले यसबारे कुनै आधिकारिक जानकारी पाएको छैन । तसर्थ अहिलेको नियुक्ति सम्बन्धी आइरहेको खबर भ्रामक हो र त्यसप्रति मेरो खेद छ । यस सम्बन्धि मेरो श्रीमानलाई नजोड्नुहुन म विनम्र आग्रह गर्दछु।’
