कैलाली । धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर जोगाउने लक्ष्यसहित संघीय सरकारको तय तालिकाभन्दा अघि नै विद्यालय भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको नगर शिक्षा समितिको बैठकपछि उपमहानगरले वैशाख ४ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्न निर्देशन दिएको हो।
निर्णयअनुसार वैशाख ११ गतेसम्म भर्ना प्रक्रिया सम्पन्न गरिनेछ भने वैशाख १४ गतेदेखि नियमित पठनपाठन सञ्चालन गरिने तयारी गरिएको छ ।
संघीय सरकारअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले भने देशभर वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
तर धनगढीका शिक्षा सरोकारवालाहरूले ढिलो तालिकाले शैक्षिक सत्र खुम्चिने, पाठ्यघण्टा अपुग हुने र गुणस्तरमा असर पर्ने चिन्ता व्यक्त गरेका थिए। उक्त सुझावलाई आधार मानेर उपमहानगरले केन्द्रीय निर्णयभन्दा फरक बाटो रोजेको हो।