Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मिथ्या सूचना फैलाउनेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

मिथ्या सूचना फैलाउनेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले गलत तथ्यसहित सूचना तथा समाचार प्रकाशन तथा प्रसारण नगर्न चेतावनी दिएको छ ।

केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्री प्रकाशन तथा प्रशारण भइरहेको भन्दै मन्त्रालयले उक्त कार्य रोक्न भनेको हो ।

यस्ता कपोलकल्पित सूचना सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको मन्त्रालयले भनेको छ । सरकारले यस प्रकारका भ्रामक सूचना सामग्री सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको जनाएको छ ।

मन्त्रालय सबै समाचार प्रदायक, संस्था तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका र हचुवाका भरमा कुनै पनि समाचार तथा सूचना प्रकाशन तथा प्रसारण नगर्न नगराउन अनुरोध गरेको छ ।

आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरिएको पाइए त्यस्ता समाचार वा सूचना प्रकाशन गर्ने व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानुन (विद्युतीय कारोबार ऐन तथा अन्य सम्बद्ध कानुन) बमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

साथै, आम सर्वसाधारणलाई यस्ता समाचार तथा सूचना फैलाउन सहयोग पुग्ने क्रियाकलापमा संलग्न नहुन तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले कुनै पनि सामग्री आफ्नो व्यक्तिगत खातामार्फत साझा गर्नुअघि त्यसको आधिकारिकता जाँच गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

कसैले यस्ता समाचार वा सूचना फैलिएको थाहा पाए वा केही गुनासो वा थप जानकारी आवश्यक भए मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमा आफ्नो गुनासो तथा सूचना दर्ता गर्न वा फोन नम्बर वा इमेलमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077