काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।
समितिले बुधबार एकैपटक १० वटा सहकारी संस्थाका प्रमुख ऋणीहरूको सूची सार्वजनिक गर्दै असुली प्रक्रियालाई तीव्र बनाएको हो ।
समितिका अनुसार आगामी दिनमा अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गरिनेछ।
समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतमश्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो।
समितिले जारी गरेको सूचनामा सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र सम्पर्क नगरे कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।
समितिले अन्य ऋणीहरूको विवरण पनि क्रमशः सार्वजनिक गरिने भएकाले सबैलाई समयमै ऋण तिर्न वा सम्पर्क गर्न आग्रह गरेको छ।