काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक बाबुराम भट्टराईले पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।
शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परिषद् बैठकपछि जारी विज्ञप्तिमार्फत डा. भट्टराईले पार्टीसँगको औपचारिक जिम्मेवारी त्यागेको जानकारी गराइएको हो ।
पार्टीका अध्यक्ष सन्तोष परियारका अनुसार डा. भट्टराईले अब कुनै पनि सांगठनिक भूमिकामा नरही स्वतन्त्र रूपमा वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सहयोग गर्ने इच्छा व्यक्त गरे ।
‘उहाँले पार्टीको कुनै जिम्मेवारीमा नरही व्यापक वैकल्पिक राजनीतिक अभियानलाई स्वतन्त्र रूपमा सघाउने चाहना व्यक्त गर्नुभएको छ,’ अध्यक्ष परियारले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पार्टीले भट्टराईको व्यक्तिगत निर्णयलाई सम्मान गर्दै उनको आगामी राजनीतिक तथा व्यक्तिगत यात्राका लागि शुभकामना दिएको पनि जनाएको छ ।
यसैबीच, पार्टीका अर्का नेता सुदन किराँतीले समेत पार्टी सदस्यमा नरहने गरी सार्वजनिक वक्तव्य दिएको बैठकले जानकारी दिएको छ ।
बैठकले आगामी महाधिवेशनको तयारी, संगठन विस्तार तथा पार्टी सुदृढीकरणसम्बन्धी विभिन्न रणनीतिक निर्णयहरू पनि गरेको जनाएको छ ।