काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीति क्षमता, तयारी, अध्ययन र परिणामले चल्ने स्पष्ट पारेको छ।
रास्वपाले शनिवार राखेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा यस्तो स्पष्ट पारेको हो।
शनिबार आयोजित उक्त कार्यक्रममा पार्टीका १ सय ८२ सांसदमध्ये अपेक्षित संख्या उपस्थित नभएपछि संसदीय दलका उपनेता राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् ।
पराजुलीले भने- ‘जनताले केवल नयाँ अनुहार होइन, नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेका छन्। आजको राजनीति नाराले मात्रै चल्दैन, क्षमता, तयारी, अध्ययन र परिणामले चल्छ। जनताले अब कसले के भन्यो भन्दा पनि कसले के गर्यो भन्ने मूल्यांकन गर्न थालेका छन्। पार्टीले क्षमता विकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्व दिनु भनेको संसदीय भूमिकाबाट विमुख हुनु हो। पार्टी र संसदीय दलका तर्फबाट यी कुरा मूल्यांकन गरिनेछ।’
उनले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्त्व दिएको बताए। उनले यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराख्नु संसदीय भूमिकाबाट विमुख हुने संकेत भएको बताए।
उनले प्रशिक्षण कार्यक्रम आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको बताए। पराजुलीले यसको पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी दिए।
जनताले केवल नयाँ अनुहार नभई नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, तयारी, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको उनले बताए।