काठमाडौं । आजदेखि देशभर राष्ट्रिय सरसफाइ सप्ताह सुरु गरिएको छ । प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित, व्यवस्थित र वातावरणमैत्री बनाउने लक्ष्यसहित सुरु गरिएको अभियान जेठ १ गतेसम्म सञ्चालन हुनेछ ।
अभियानको औपचारिक उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहेताले वीर अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भएर गरेकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ जारी गर्दै सङ्घीय मन्त्रालयदेखि प्रदेश र स्थानीय तहसम्मका सबै सरकारी निकायलाई अभियानमा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ। मार्गदर्शनमा न्यून लागतमा अधिकतम प्रभाव पार्ने गरी सरसफाइ मापदण्ड लागू गरिने उल्लेख गरिएको छ।
सरकारका अनुसार सरकारी कार्यालयहरूमा स्पष्ट सरसफाइ मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारीको कार्य वातावरण तथा सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर देखिएको थियो। यही अवस्थालाई सुधार गर्दै ‘स्वच्छ र सुरक्षित कार्यस्थल’ निर्माण गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो।
अब सरकारी कार्यालयहरूमा सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरूलाई व्यवस्थित र स्पष्ट बनाइनेछ। चर्किएका वा उक्किएका भित्ताहरू मर्मत तथा रङ्गरोगन गरिनेछ भने मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई सफा र आकर्षक बनाइने योजना अघि सारिएको छ।
शौचालय व्यवस्थापनलाई पनि विशेष प्राथमिकतामा राखिएको छ। मार्गदर्शनअनुसार शौचालय दुर्गन्धरहित हुनुपर्ने, नियमित पानीको व्यवस्था अनिवार्य गर्नुपर्ने तथा हात धुने स्थानमा साबुन उपलब्ध गराउनुपर्नेछ। महिलामैत्री शौचालय र ‘स्यानिटरी डिस्पोजल’ सुविधालाई अनिवार्य बनाइएको छ भने दैनिक सरसफाइको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
फोहोर व्यवस्थापनतर्फ कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखेर कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ। पुराना तथा काम नलाग्ने सामग्रीको उचित व्यवस्थापन गर्नुपर्ने र खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
मार्गदर्शनमा कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढल सफा राख्नुपर्ने, अव्यवस्थित तार तथा पोस्टर हटाउनुपर्ने तथा सेवाग्राहीलाई सहज सेवा दिन ‘हेल्प डेस्क’ र सूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने व्यवस्था गरिएको छ।