काठमाडौं । सुशासन कायम गर्न भन्दै मालपोत कार्यालयबाट लेखापढी ब्यवसायीहरुलाई बिचौलियाको बिल्ला भिराउँद धरपकड गर्दैआएको सरकारका मन्त्रीहरु एकपछि अर्का विवादित कर्मचारीलाई महत्त्वपूर्ण जिम्मा दिन तल्लीन छन् ।
भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भदौ २४ अघिका मन्त्री बलराम अधिकारीकै पथ अनुशरण गर्दै विवादित र सम्पत्ति छानबिन गर्नुपर्ने उपसचिवलाई मालपोत कार्यालय ललितपुरको प्रमुखमा सरुवा गरेकी छन् ।
विवादास्पद र आकर्षक कार्यालयमा रजगज गर्दै अकूत कमाउन सफल भएका छविलाल नेपालीलाई उनले ललितपुर मालपोतको प्रमुखमा सरुवा गरेपछि उनी बलराम पथमा लागेको पुष्टि गरेको छ ।
काठमाडौं उपत्यकाको सर्वाधिक आकर्षक मालपोत कार्यालय हो ललितपुर । त्यहाँ सधैं आकर्षक मालपोतमा बसी रजगज गरी अकूत सम्पत्ति कमाएका र छानबिनमा तानिनुपर्ने नेपालीलाई प्रमुख बनाएपछि रास्वपा र मन्त्री रावलको सुशासन नारामात्र रहेको पुष्टि गरेको छ ।
भूमिब्यवस्था मन्त्रालयको समेत कार्यभार सम्हालेकी मन्त्री रावलले विगतको केपी शर्मा ओली नेतृत्वको सरकारले कारबाहीस्वरुप डिल्लीबजार मालपोत कार्यालयबाट रौतहट मालपोत कार्यालयमा सरुवा गरेका उपसचिव नेपालीलाई ललितपुर मालपोत कार्यालयमा सरुवा गरेकी हु्न ।
मन्त्री रावलका निजी सचिव भीम बुढाको सेटिङमा नेपालीलाई ललितपुर मालपोतमा सरुवा गरिएको मन्त्रालयका एक अधिकारी बताउँछन् । सुशीला कार्की सरकारका भूमिब्यवस्था मन्त्री कुमार इङ्नामले ललितपुर मालपोत कार्यालयको प्रमुखमा सरुवा गरेका भीम बुढा रास्वपाले चुनावमा बहुमत ल्याउनासाथ मन्त्री रावलको निजी सचिवका रुपमा मन्त्रालय आएका छन् ।
आफ्नो जागिर अवधि लामो भएको र मालपोत कार्यालयमा बस्दा विवादमा परिने भएपछि उनी मन्त्रालयमा आएका थिए । उनले हाक्काहाक्की ऐन–कानून मिचेर काम गर्नसक्ने र करोडौं घुस असुल्न सक्ने खुबी भएका नेपालीलाई ललितपुर मालपोतको प्रमुखमा सरुवा गर्न मन्त्री रावललाई सिफारिस गरेको भूमि ब्यवस्थापन तथा अभिलेख बिभाग स्रोत बताउँछ ।
मन्त्रीलाई उपसचिव नेपालीको बिगतको भ्रष्ट छवि थाहा नभएकाले बुढाकै सिफारिसमा उनले सरुवा गर्न सचिव मदन भूजेललाई निर्देशन दिएकी थिइन ।
डिल्लीबजार मालपोत कार्यालयको प्रमुख हुँदा हदबन्दी भन्दा बढीका जग्गा समेत दर्ता गरेको बिषयमा छानबिन गरी कारबाही गर्नुपर्नेमा नेपालीलाई उल्टै पुरस्कृत गरी ललितपुर पठाएकी हुन् ।
यसका अलावा गुठीका जग्गादेखि मोहीको विवादमा समेत उनले ऐन कानून होइन घुसको मोलमोलाइका आधारमा गरेको आरोप लागेको थियो । उपसचिव नेपाली भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले पूर्वराजा स्व. वीरेन्द्र र ज्ञानेन्द्र शाहका कान्छा भाइ तत्कालीन अधिराजकुमार धिरेन्द्र शाहको ३५ रोपनी हदबन्दीको जग्गा उनका हकवाला ३ जनाको नाममा कायम गर्ने आदेश दिएका थिए ।
भूमिसुधार अधिकारीको रुपमा उनले ठूलो रुकम घुस लिएर उक्त आदेश दिएको आरोप लाग्दैआएको छ । भूमि ऐनमा काठमाडौं उपत्यकाका १० रोपनी भन्दा बढी जग्गा एक परिवारको नाममा भएमा हदबन्दीभन्दा बढी जग्गा सरकारी हुन्छ । तर, महाराजगञ्जको जीवनकुञ्जको हदबन्दी भन्दा बढी शाहको जग्गा मालपोत प्रमुख नेपालीले दर्ता गरेका थिए ।
त्यसैगरी, नेपालीमाथि भूमिसुधार अधिकारीकोे रुपमा २०८० चैत १२ गते गरिएको निर्णयका क्रममा टौदहस्थित एक जग्गाको मोही नामसारी गर्ने बहानामा झन्डै २५ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो ।
आकर्षक कार्यालयमै मस्ती, कुस्त कमाई
जागिरे जीवनमा उपसचिव भएपछि आकर्षक मालपोत कार्यालयमा रजगज गरी अकूत कमाउनेमा पर्दछन्–छविलाल नेपाली ।
उनी २०७८ देखि ८० सम्म बाँके मालपोत कार्यालयका प्रमुख थिए । बाँके उपत्यका बाहिरको आकर्षक कार्यालयमा पर्दछ ।
२०८० भदौदेखि मंसिरसम्म काठमाडौको टोखा मालपोत कार्यालयमा प्रमुख भएका उनी २०८० मंसिरमा डिल्लीबजार मालपोत कार्यालयमा सरुवा भएका थएि ।
२०८१ कात्तिकसम्म डिल्लीबजारमा कार्यरत रहँदा भूमिसुधार अधिकारीका रुपमा हदबन्दीका जग्गाा दर्ता गर्नेदेखि मोही तल्सिङका विवादित जग्गामा निर्णय गर्दै अकूत आर्जन गर्न सफल भएका थिए । डिल्लीबजार मालपोत कार्यालयबाट स्थानीय तहमा सरुवा भए । तर पावर लगाएर उनी खटाएको स्थानीय तहमा हाजिर हुन गएनन् ।
तीन महिनासम्म सिंहदरबारदेखि बिभिन्न शक्तिकेन्द्र धाएर सामान्य प्रशासन मन्त्रालयमा चलखेल गरी २०८१ पुसमा भूमिब्यवस्था मन्त्रालयमै फर्किन सफल भए ।
२०८२ साउनसम्म भूमि मन्त्रालयमा बसी पुनः बलराम अधिकारीलाई खुसी बनाएर २०८२ साउनमा कास्की मालपोत कार्यालयमा सरुवा भए । लिचीबारी जग्गा प्रकरणमा ठूलो भ्रष्टाचारको आरोप लागेका ओली सरकारका भूमि ब्यवस्था मन्त्री बलराम अधिकारीले उनलाई कास्की पठाएका थिए ।
कास्की मालपोत कार्यालयमा कार्यरत नेपाली विवादास्पद र घुस लेनदेनमा सक्रिय भएको थाहा पाएपछि तत्कालीन भूमिब्यवस्था मन्त्रालयको कार्यभार पाएका मन्त्री अनिलकुमार मिश्रले २०८२ कात्तिकमा फेरि अर्कै मन्त्रालय अन्तर्गत स्थानीय तहमा सरुवा गर्न लगाए । तर उनी फेरि सरुवा भएको पालिकामा गएनन् ।
२०८२ पुसमा फेरि भूमिब्यवस्था मन्त्रालयमै आएर रौतहट मालपोत कार्यालयमा सरुवा भए । ललितपुर मालपोतमा जानका लागि चलखेल गरेका नेपालीलाई इङ्नामले रौतहटमा सरुवा गरी उनको योजना तुषारापात गरिदिएका थिए । तर २०८२ चैतमा बालेन्द्र शाह प्रधानमन्त्री भएपछि विवादित नेपाली पुनः ललितपुर मालपोत कार्यालयमा सरुवा हुन सफल भएका छन् ।
डिल्लीबजार मालपोत कार्यालयमा हुँदा आर्थिक लाभ लिएर हदबन्दीका जग्गा दर्ता गरेकोबारेमा उपसचिव छविलाल नेपालीले अनलाइन नेपालसँग भने–‘बुझ्दै नबुझी आरोप लगाउन पाइन्छ ?’
हदबन्दीको जग्गा दर्ता गरेकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै उजुरी परेर छानविन भएको बारेमा उनले भने–‘मलाई थाहा छैन । दर्ता गरेको छैन ।’