काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका विभिन्न सडक क्षेत्रमा मागेर जीवनयापन गर्दै आएका नागरिकहरूको उद्धार तथा व्यवस्थापन अभियान तीव्र बनाएको छ।
मंगलबार साँझसम्म सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको प्रहरीले जनाएको छ।
कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार काठमाडौं जिल्लाभित्र मात्रै १०५ जनाको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ६६ पुरुष, २२ महिला, नौ बालक र आठ बालिका रहेका छन्।
उद्धार गरिएका व्यक्तिमध्ये ४० जनालाई गौशालास्थित होल्डिङ सेन्टरमा राखिएको छ भने १६ जनालाई आफन्तको जिम्मा लगाएर घर पठाइएको प्रहरीले जनाएको छ। बाँकी ४९ जनाको पहिचान तथा अवस्थाबारे स्क्यानिङ प्रक्रिया जारी रहेको छ।
यस्तै, जिल्ला प्रहरी परिसर ललितपुर अन्तर्गत सञ्चालन गरिएको अभियानमा २६ जनालाई नियन्त्रणमा लिइएको छ। तीमध्ये १९ पुरुष र सात महिला रहेका छन्। दुई जनालाई मानव सेवा आश्रम मा राखिएको, दुई जनालाई आफन्तको जिम्मा लगाइएको तथा बाँकी २२ जनाको स्क्यानिङ भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सडकमा माग्दै हिँड्ने व्यक्तिहरूको उद्धारसँगै उनीहरूको पुनःस्थापना, स्वास्थ्य परीक्षण, पारिवारिक पुनर्मिलन तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ । यसका लागि स्थानीय तह, सामाजिक संघसंस्था र सम्बन्धित निकायसँग समन्वय गरेर अभियानलाई निरन्तर अघि बढाइने प्रहरीले जनाएको छ।