काठमाडौं । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफल प्रतिपक्षी दलहरूको अवरोध र बहिष्कारबीच अघि बढेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले उठेका प्रश्नहरूको जवाफ दिएका हुन् ।
सदनमा अवरोध भएपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तर करिब आधा घण्टापछि बैठक पुनः सञ्चालन गरिएको हो।
छलफलका क्रममा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित हुनुपर्ने माग राखेका थिए। तर प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री वाग्लेलाई सरकारको तर्फबाट जवाफ दिन जिम्मेवारी दिइएको थियो।
यस घटनाक्रमबीच प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने चार विपक्षी दलहरूले बैठक बहिष्कार गरेका छन्। उनीहरूले प्रधानमन्त्री आफैं उपस्थित हुनुपर्ने अडान राख्दै बहिष्कार गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सदनमै विरोध जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित केही सांसदहरू बैठकमै उभिएर विरोध जनाइरहेका थिए भने केही सांसद बैठक छोडेर बाहिरिएका थिए।
विपक्षीको अवरोध र बहिष्कारबीच पनि अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रमका विभिन्न पक्षमा सरकारको धारणा स्पष्ट गर्दै उठेका प्रश्नहरूको जवाफ दिएका थिए।