काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीह देखिएको टिप्पणी गरेका छ्न् ।
सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएको भन्दै त्यसभन्दा फरक बजेट ल्याउनुपर्नेमा उनको जोड थियो ।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरि सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरे ।
सांसदहरूले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले प्रश्न उठाउन सक्ने पुनको भनाइ छ ।
ढिलो गरी संसदको अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रित छलफलहरु छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उनले बताए ।
यसैबीच, उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले राजनीति गरेको आरोप पनि लगाए । पुनले न्यायालयको स्थापित वरीयता प्रणाली सरकारले राजनीति छिराएको आरोप लगाएका हुन् ।
विगतका राजनितिक दलहरुले न्यायालयमा राजनीति नगरेको दाबी गर्दै पुनले भने–‘सरकारले वरीयता मिचेर चौथो वरीयतामा रहनुभएका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएको छ । उहाँहरूले राजनीति गर्नुभयो, ८० वर्ष न्याय इतिहासमा वरीयता मिच्नुभयो भन्ने आरोप छ।’
पुनले संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा हतार गरेको बताए।