काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले पुराना दलहरूको कमजोरीका कारण रास्वपाको उदय भएको बताएका छन् ।
१७३औँ विश्व मजदुर दिवसका सन्दर्भमा पार्टी सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा आज काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा ट्रेड युनियनको भूमिका’ विषयक अन्तर्क्रियामा बोल्दै पुनले यस्तो बताएका हुन् ।
३६ वर्ष शासन सत्तामा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका आफूहरूको कमजोरीको जगमा देशमा लोकप्रियतावादीहरूको जन्म भएको स्विकार्न हिचकिचाउन नहुने उनको भनाइ छ ।
उनले भने- 'अरु साथीहरु ३६ वर्षदेखि र हामी १८ वर्षदेखि सत्तामा र्छौं । बिना कारण त मानिसमा निराशा आएन । पुराना राजनीतिक पार्टीका नेता र दलहरुको विरोध गर्दा जनता किन खुसी भए भनेर हामीले आफूलाई हेर्नुपर्छ ।'
पुराना दल, नेता तथा लोकतान्त्रिक संस्थाहरूको विरोध गर्दा जनता किन खुसी भए भन्नेबारे गम्भीर समीक्षा गरेर अघि नबढे आफूहरूतर्फ जनमत फर्कने सम्भावना नरहेको पुनको स्पष्टोक्ति छ।
उनले थप भने- 'नागरिक संस्थाहरु खारेज हुनुपर्छ भन्दा जनता खुसी हुने अवस्था किन आयो ? लोकतान्त्रिक अधिकार खुम्चिँदा पनि नागरिक खुसी हुने अवस्था कसरी आयो ? यसमा पार्टीहरुले र नेताहरुले पनि आफ्ना कमजोरीको गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ ।'
विगतमा शासन सत्ता सञ्चालनका क्रममा कोही नेताले गल्ती गरेको भए उसले सजाय भोग्नुपर्नेमा आफूहरु स्पष्ट रहेको भन्दै उनले व्यक्तिगत प्रतिष्ठा ड्यामेज गर्ने उद्देश्यले प्रधिशोधी व्यवहार कसैमाथि पनि गर्न नहुने बताए ।
साथै सरकारले राम्रो गर्दा पनि विरोध गर्नैपर्ने परम्परागत शैलीको प्रतिपक्षी भूमिका आफूहरुबाट नहुने उनको भनाइ छ ।