काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा भएको झडप घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
बुधबार सार्वजनिक गरिएको भिडिओ सन्देशमार्फत मेयर हमालले आफ्नो टोलीले ड्रोन उडाएकै कारण झडप भएको भन्ने प्रहरी प्रशासनको दाबीलाई “हास्यास्पद” भन्दै अस्वीकार गरेका हुन्।
उनले घटनामा आफ्नो टोलीको कुनै संलग्नता नरहेको दाबी गर्दै विवाद आफूहरू पुग्नुभन्दा तीन दिनअघि नै सुरु भइसकेको बताए।
“ड्रोन उडाएका कारण घटना भयो भन्नु सरासर गलत र भ्रामक सूचना हो,” मेयर हमालले भने, “प्रहरी प्रशासनले दिइरहेको सूचना या त तथ्यविपरीत छ, या नियतवश घटनालाई तोडमोड गरेर प्रस्तुत गरिएको छ।”
मेयर हमालका अनुसार लाम्पाटा क्षेत्रमा जेठ २ गतेदेखि नै विवाद चर्किएको थियो। उनले हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङमाथि कुटपिट भएको, घाइते अवस्थामै उपचारका लागि जान नदिइएको तथा घर र रासनसमेत कब्जा गरिएको आरोप लगाए।
उनले आफूहरूको टोली भने जेठ ५ गते मात्रै घटनास्थल पुगेको स्पष्ट पारे। “हामी पुग्नुअघि नै हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र अन्य कर्मचारीमाथि आक्रमण भइसकेको थियो,” उनले भने।
घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र र निष्पक्ष छानबिन आवश्यक रहेको मेयर हमालको भनाइ छ।