काठमाडौं । संवैधानिक कानूनविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई ‘अति नै असामान्य र गम्भीर’ भन्दै आपत्ति जनाएका छन्।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको र आफू प्रधानमन्त्री बनेपछि त्यसबारे जानकारी पाएको बताएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएलगत्तै राजनीतिक तथा बौद्धिक वृत्तमा तीव्र प्रतिक्रिया सुरु भएको छ।
यसैक्रममा डा. आचार्यले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्ति अपेक्षित नभएको बताएका छन्। उनले नेपाल–भारत सीमा विवादजस्तो संवेदनशील विषयमा सरकार प्रमुखले दिएको अभिव्यक्तिले राष्ट्रिय हित र भौगोलिक अखण्डतामाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ। दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान झन् चिन्ताजनक छ। आजसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् वा संसद् बाहिर दिएको रेकर्ड छैन। यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन।’
डा. आचार्यले प्रधानमन्त्रीको भनाइले नेपालको भूमि अतिक्रमणको विषयलाई कमजोर बनाउने र त्यसलाई अप्रत्यक्ष रूपमा वैधता दिने खतरा रहेको चेतावनी दिएका छन्। उनका अनुसार सीमा अतिक्रमणलाई दुई देशबीचको पारस्परिक समस्या जस्तो प्रस्तुत गर्दा नेपालको दाबी र अडान नै कमजोर बन्न सक्छ।
उनले सरकारको यस्तो धारणा सार्वजनिक हुनु आफैंमा चिन्ताको विषय भएको उल्लेख गर्दै भनेका छन्, ‘यसको सबैभन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भइरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो। सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाउँछ।’
डा. आचार्यले वर्तमान परिस्थितिलाई गम्भीर रूपमा लिन आग्रह गर्दै सम्पूर्ण नेपाली नागरिक सचेत हुनुपर्ने आवश्यकता औंल्याएका छन्। ‘सिंगो देश र देशवासी झनै सचेत हुनुपर्ने समय आएको जस्तो छ,’ उनले भनेका छन्।