काठमाडौं । अमेरिकी सेनामा कार्यरत एक नेपाली युवाको गोली लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ घर भएका २४ वर्षिय सुनील थापा रहेका छन् । सुनीलको दुई दिनअघि मात्रै निधन भएको हो ।
उनी अमेरिका बसोबास गर्दै आएका वरिष्ठ समाजसेवी हेम थापा र मायाँ थापाका कान्छा छोरा हुन् ।
पारिवारिक स्रोतका अनुसार उनको ड्युटीका क्रममा दुर्घटनाबस चलेको गोली टाउकोमा लागेर घटनास्थलमै निधन भएको बुझिएको छ ।
अमेरिकी सेनामा कार्यरत सुनील केही समयअघि मात्र पदोन्नति भएका थिए। पदोन्नतिपछि केही दिन बिदा लिएर सुशीलले परिवारसँग घूमघाम गरेका थिए ।
छुट्टी सकिएर फेरि जागीर सुरु गरेको केही दिनमा नै यस्तो घटना घटेको हो ।
हाल घटनाबारे अमेरिकी निकायले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ ।
जसका कारण परिवारले अझै शव बुझ्न पाएको छैन। कानूनी प्रक्रिया पूरा भएपछि एकदुई दिनमा परिवारले शव प्राप्त गर्ने आशा गरिएको छ ।